उपनिर्वाचनलाई कांग्रेसले प्रतिष्ठाका रूपमा लिएको देखिन्छ नि ?
स्वाभाविक रूपमा कुनै पनि राजनीतिक दलका लागि जुनसुकै तहको निर्वाचन भए पनि त्यो महत्वपूर्ण हुने नै भयो । अहिले उपनिर्वाचन हुन लागेकामध्ये अधिकांश विगतमा हामीले जितेका स्थान छन् । डेलिभरीमा जनतासित प्रत्यक्ष जोडिने स्थानीय तहको निर्वाचनलाई कसैगरी कम आँक्न मिल्दैन । कांग्रेसले पनि उपनिर्वाचन त हो भनेर यसलाई कम आँक्ने कुरै हुँदैन । त्यसैले, हामीले सबै आधार र सम्भावित कोणबाट विश्लेषण गरी आवश्यक तयारी गरिरहेका छौँ ।
पार्टीको प्रतिष्ठा जोगाउन आसन्न उपनिर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ?
हामी यसअघि जितेका स्थानीय तहमा पुरानै परिणाम दोहोर्याउने र अन्य स्थानमा पनि जित हासिल गर्ने गरी सघन तयारीमा लागेका छौँ । पार्टीले आन्तरिक तयारी गरिरहको छ । तीनै तहका पार्टी संरचनालाई निर्वाचनकेन्द्रित गरेका छौँ । प्रक्रियागत रूपमा हुनुपर्ने काम भइरहेका छन् । रणनीतिक विषय बनाउन केन्द्रमा रहेका समितिदेखि सबै तहमा छलफल र तयारी भइरहेको छ ।
गठबन्धन नगर्ने भएपछि एक्लै परिणाम ल्याउन के–कस्तो तयारी छ त ?
निर्वाचनमा गठबन्धन नगर्ने नीति बनेपछि हामीले पहिलोपटक उपनिर्वाचनको सामना गर्दैै छौँ । हामी पार्टीको नीतिअनुसार एक्लै परिणाम ल्याउन आवश्यक तयारी गरिरहेका छौँ । उम्मेदवार छनोटदेखि प्रचारप्रसारसम्मका सबै विषयमा हामीले सोहीअनुसार तयारी गरिरहेका छौँ । पार्टीका सम्पूर्ण जिम्मेवार पदाधिकारी, नेता, कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संघसंस्थासमेत यसको तयारीमा आ–आफ्नो तहबाट जुटिसक्नुभएको छ ।