छायाँनाथ रारा नगरपालिकाको एक करोड १० लाख १२ हजार ५०० रुपैयाँको लगानीमा पुल निर्माण सम्पन्न
मुगुको छायाँनाथ रारा नगरपालिका-२ मा अवस्थित चैन खोलामा झोलुंगे पुल सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै यहाँका २० गाउँका स्थानीयलाई सहज भएको छ।
१४७ मिटर लम्बाइ र करिब २७ मिटर उचाइ भएको झोलुंगे पुल शुक्रबार विधिवत रूपमा उद्घाटन गरी सञ्चालनमा आएपछि छायाँनाथ रारा नगरपालिकाका १,२,४,५,६ र ७ का स्थानीयलाई जिल्ला सदरमुकाम गमगढी बजार आवतजावतमा सहज हुनेछ। छायाँनाथ रारा नगरपालिकाको एक करोड १० लाख १२ हजार ५०० रुपैयाँको लगानीमा पुल निर्माण गरिएको छ।
चैनखोला झोलुंगे पुलको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वउद्योग पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्ल र जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले संयुक्त रूपमा गरे। यसैगरी, शिला उद्घाटन छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले गरेका छन्।
चैन खोलामा झोलुंगे पुल निर्माण भएसँगै सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामान किनमेल गर्न, आउजाउ गर्न र चैन गाउँमा रहेको प्रसिद्ध छायाँनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न सहज हुनुका साथै बालबालिकालाई बजारमा रहेका निजी तथा सामुदायिक विद्यालयहरू पुग्न पनि सजिलो हुने भएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए।
०८१ वैशाख ३१ गते पुल निर्माणको सम्झौता गरेको ठेकेदार कम्पनीले २०८१ साल पुस ३० गते सम्पन्न गर्नुपर्ने थियो, तर पुल निर्माण सम्पन्न हुने मितिअगावै पुल निर्माण भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ।
झोलुंगे पुल उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख, नगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, जिल्लाका विभिन्न राजनीतिक दलका नेता र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।