खान अयोग्य चामल गायब पार्ने मंगलमय ट्रेडर्सलाई ७० हजार जरिवाना

बिहिबार, १५ कार्तिक, २०८१
डिजिटल संस्करण

बजार अनुगमनका क्रममा खान अयोग्य पाइएपछि बिक्री र ओसारपसारमा रोक लगाएको चामल गायब पारेपछि मकवानपुरको मनहरी गाउँपालिकाले स्थानीय एक व्यापारीक फर्मलाई ७० हजार जरिवानासहित कारबाही गरेको छ ।

पालिकाले वडा नम्बर ७ मनहरीको माथिल्लो बजारमा रहेको मंगलमय ट्रेडर्सलाई ७० हजार जरिवानासहित कारबाही गरेको गाउँपालिकाका शाखा अधिकृत शैलेश बाँस्कोटाले जानकारी दिए । उनका अनुसार उक्त व्यापारिक फर्मलाई गत ६ असोजमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीलले गरेको ५० हजार जरिवानामा गाउँपालिकाले थप २० हजार जरिवाना गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा पुगेको अनुगमन टोलीले जाँच गर्दा उक्त व्यापारिक फर्मको गोदाममा रहेको ६० बोरा चामल प्रचलित मापदण्डअनुसार नभएको पाइएपछि ५० हजार जरिवाना गर्ने निर्णय भएको थियो । अनुगमन टोलीले जरिवाना गरेसँगै गोदाममा रहेको ओम कैलाश ब्रान्डको ५३ बोरा र लक्ष्मी राइस मिलको ७ बोरा चामल बिक्री र ओसारपसारमा प्रतिबन्ध लगाएको थियो ।

१२ कात्तिकमा चामलको नमुना परीक्षणका लागि जाँदा चामल गोदाममा फेला नपारेपछि गाउँपालिकाले २० हजार जरिवाना थप गरी २४ घण्टाभित्र पालिकामा सम्पर्क गर्न निर्देशन दिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले उक्त फर्मलाई गाउँपालिकामा जरिवाना दाखिला गर्न र चामल फिर्ता ल्याउन भन्दै १४ कात्तिकमा पत्राचार गरेका छन् । व्यवसायीले भने चामलमा कैफियत पाएपछि प्याकिङ गर्ने सम्बन्धित राइस मिलमा नै फिर्ता पठाएको दाबी गरेका छन् ।

See More On

सुझावित समाचार