ल्यान्डफिल साइट सञ्चालनमा आएको दुई वर्षसम्म फोहोर प्रशोधन हुन सकेन, मेसिनमा खिया

जथाभावी फोहोर फाल्दा ल्यान्डफिल साइटले फैलायो दुर्गन्ध

बिहिबार, १५ कार्तिक, २०८१
डिजिटल संस्करण

कुल १३ बिघा क्षेत्रफलमा रहेको ल्यान्डफिल साइट एसियाली विकास बैँक (एडिबी)को अनुदान सहयोगमा ३८ करोड ९३ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । ल्यान्डफिल साइटमा रहेका लोडर, फोहोर बोक्ने इलेक्ट्रिक अटो रिक्सासमेत बेवारिसे बनेका छन् । महँगा मेसिन र उपकरण सञ्चालन नहुँदा खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । नेपालगन्ज उपमहानगर वातावरण तथा सरसफाइ महाशाखा प्रमुख इन्जिनियर प्रकाश डिसीले कर्मचारी अभावका कारण मेसिनबाट फोहोर प्रशोधन गर्न नसकिएको बताए । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका– १३ तेलियनपुरकी सीता चौधरीलाई झिँगाले हैरान पारेको छ । तीन वर्षदेखि घरमा झिँगा बढेपछि खानेकुरा जोगाउनै सकस छ । यी झिँगा चौधरीको घरबाट पाँच सय मिटर दक्षिणमा रहेको प्रविधियुक्त ल्यान्डफिल साइटको फोहोरको डंगुरबाट आएका हुन् । 

‘झिँगाले हैरान पारिसके, खानेकुरा जोगाउन गाह्रो छ । ल्यान्डफिल साइटमा झिँगा मार्ने औषधि छर्किन भनिदिनुहोला,’ चौधरीले भनिन् । उनले झिँगासँगै दुर्गन्धले सास्ती दिएको गुनासो गरिन् । दक्षिणतर्फको हावा बहनेबित्तिकै ल्यान्डफिल साइटमा थुपारिएको डंगुरको गन्धले सताउने गरेको उनको भनाइ छ । ‘दुर्गन्धले खाँदै गरेको भातसमेत खान छाड्नुपर्ने हुन्छ,’ उनले भनिन् । 

दुर्गन्धले नेपालगन्ज उपमहानगरपालिकाका–२३ र १३ का अधिकांश सर्वसाधारणले हैरानी खेप्दै आएका छन् । झिँगा र दुर्गन्धले गाह्रो बनाएको नेपालगन्ज– २३ लोहरनपुर्वाका सफिक बेहनाले गुनासो गरे । उनले फोहोर व्यवस्थापन गर्न माग गरे पनि उपमहानगरले बेवास्ता गरेको बताए । ‘गर्मीमा मात्र नभई चिसो समयमा समेत झिँगा लाग्छन् । झिँगाको समस्या त छँदै छ ल्यान्डफिल साइटबाट आएको दुर्गन्धले घरमा बस्न मुस्किल पर्छ,’ उनले भने । 

कुहिने र नकुहिने वस्तु फरक–फरक ठाउँमा भण्डारण गरी कुहिने वस्तुबाट कम्पोस्ट मल र नकुहिने वस्तुलाई बिक्री गरी आर्थिक लाभ लिने उद्देश्यले नेपालगन्ज उपमहानगरले अत्याधुनिक ल्यान्डफिल साइट निर्माण गरेको हो । तर, कर्मचारी अभावको बहाना बनाएर कुहिने र नकुहिने वस्तु एउटै खाल्डोमा भण्डारण गर्दै आएको छ । 

नेपालगन्ज उपमहानगरले ०७९ मंसिरमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्रसमेत सञ्चालनमा ल्याएको थियो । त्यही प्रयोजनका लागि जिआइजेडले दुईवटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन उपलब्ध गराएको थियो । त्यसअघि नेपालगन्ज उपमहानगरबाट निस्कने फोहोर व्यवस्थापन गर्न ०७६ सा यो ल्यान्डफिल्ड साइट निर्माण गरिएको थियो । 

आठ वर्षमा भरिने सेल चार वर्षमै भरिए
ल्यान्डफिल साइटमा फोहोर थुपार्न चारवटा सेल बनाइएको छ । एउटा सेलमा करिब आठ वर्षसम्म नगरको फोहोर व्यवस्थापन गर्न सकिने अनुमान गरिएको थियो । तर, ती सेलमध्ये एउटा सेल चार वर्षमै भरिएको छ । कुहिने र नकुहिने वस्तु एउटै खाल्डोमा फाल्दा ल्यान्डफिल साइट दुर्गन्धित बनेको छ । ‘एकपटक फोहोर फालेपछि माटो हालेर फोहोर पुर्ने र लोडर मेसिनले दबाउने सहमति स्थानीय र उपमहानगरबिच भएको हो,’ स्थानीय ठग्गाराम थारूले भने, ‘सहमतिअनुसार काम नहुँदा दुर्गन्ध मात्र फैलिएको छैन, झिँगाको आतंक पनि त्यत्तिकै छ ।’

फोहोर प्रशोधन मेसिनमा खिया
ल्यान्डफिल साइट सञ्चालनमा आएको दुई वर्ष पुगेको छ । तर, अहिलेसम्म फोहोर प्रशोधन गरिएको छैन, जसकारण फोहोर प्रशोधन गर्ने मेसिनमा खिया लागेको छ । 

कुहिने र नकुहिने वस्तु छुट्याउने र कुहिने वस्तुलाई पेलेर कम्पोस्ट मल बनाउन प्रयोग हुने मेसिन सञ्चालनमा आएका छैनन् । मेसिन नचलेकै कारण कामदारबाट फोहोर व्यवस्थापन र प्रशोधनका काम भइरहेका छन् । कुहिने र नकुहिने फोहोर छुट्याएर फोहोर प्रशोधन गरिनुपर्नेमा काम हुन नसकेको नेपालगन्ज उपमहानगर वातावरण तथा सरसफाइ महाशाखा प्रमुख इन्जिनियर प्रकाश डिसीले बताए । ‘कर्मचारी अभावका कारण मेसिनबाट फोहोर प्रशोधन गर्न सकिएको छैन । प्रशोधन गर्न नसकेकै कारण कुहिने र नकुहिने वस्तु एकै ठाउँमा भण्डारण गर्नु परेको छ,’ उनले भने, ‘मेसिन बिग्रिन नदिन समय–समयमा चलाउने गरिएको छ । प्रशोधनको काम भने हुन सकेको छैन ।’ ल्यान्डफिल साइटमा एक वर्षसम्म ६० जना कर्मचारी कार्यरत रहेकामा अहिले ३० जना मात्र कार्यरत छन् ।  

ल्यान्डफिल साइटमा रहेका लोडर, फोहोर बोक्ने इलेक्ट्रिक अटो रिक्सासमेत बेवारिसे बनेका छन् । महँगा मेसिन र उपकरण सञ्चालन नहुँदा खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । मेसिन र उपकरण यत्रतत्र छरिएका छन् । कतिपय मेसिन त काम नलाग्ने अवस्थामा पुगेकोस्थानीय अब्दुल कादिर शेषले बताए । कुल १३ बिघा क्षेत्रफलमा रहेको ल्यान्डफिल साइट एसियाली विकास बैँक (एडिबी)को अनुदान सहयोगमा ३८ करोड ९३ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । 
 

सुझावित समाचार