पर्यटनको राजधानी सहर पोखरामा प्लास्टिकजन्य फूल र माला बिक्री गर्न निषेध गरिए पनि अटेर गरेपछि कारबाही सुरु गरिएको छ। पोखरा महानगरपालिकाले १२ साउन २०७९ मा राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि लागू हुने गरी प्लास्टिकजन्य फूल, माला, गुच्छाको उत्पादन, आयात र बिक्री-वितरणमा पूर्ण रूपमा रोक लगाएको थियो। तर पनि अटेर गरेपछि अनुगमन टोलीले मंगलबार विभिन्न पसलबाट फूल, माला जफत गरी पसल सञ्चालकलाई एक साताभित्र महानगर कार्यालयमा उपस्थित हुन भनेको छ।
उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा गएको अनुगमन टोलीले आठ पसलबाट ३० हजार मूल्यबराबरको प्लास्टिकजन्य फूल–माला जफत गरेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। तिहारमा प्लास्टिकका फूल, माला बढी आयात हुने र बिक्री-वितरण हुने गरेको गुनासोपछि अनुगमन गरिएको सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए।
अनुगमनका क्रममा पोखरा– ९ मा रहेका पुष्पराज फ्लावर एन्ड ब्याडिङ सप, सृष्टि फ्लावर, गढीमाई टेन्ट हाउस, पोखरा– ४ मा रहेका एनएस फोटो फ्रेम एन्ड गिफ्ट कलेक्सन, गणेश पूजा सामग्री भण्डार, महाकाली पूजा सामग्री भण्डार र पोखरा– ८ मा रहेको एभरग्रिन फ्लावर सपबाट गरी ३० हजार मूल्यबराबरको प्लास्टिकजन्य फुलका गुच्छा र माला जफत गरिएको कडरियाले जानकारी दिए। अघिल्ला वर्षको तुलनामा यस वर्ष प्लास्टिकजन्य फूल, माला कम भेटिएको उनको भनाइ छ।
वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट रु. १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट एक लाखसम्म जरिवाना हुुन सक्ने व्यवस्था छ।
आठौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक पुष्प मेला जारी
नजिकिँदै गरेको तिहार र छठपर्वलाई लक्षित गर्दै पोखरामा सोमबारदेखि आठौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक पुष्प मेला २०८१ जारी छ। ‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावारीको सान’ भन्ने नारासहित फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) जिल्ला समिति कास्कीको आयोजनामा सुरु मेला १६ कात्तिकसम्म चल्नेछ।
पोखरा प्रर्दशनी केन्द्रमा जारी मेलामा २३ वटा प्रदर्शनी कक्ष रहेका छन्। २३ मध्ये व्यावसायिक २०, कृषि सामग्रीका दुई र सूचनामूलक एक स्टल रहेका फ्लोरिकल्चर एसोसिएसन नेपाल जिल्ला समिति कास्कीका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए। मेलामा पोखरामा स्थानीयले उत्पादन गरेको फूल व्यवसायीले सीधै लगेर बेच्न पाउने व्यवस्था मिलाइएको छ। प्रदर्शनीको करिब २० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
पोखरामा वार्षिक रूपमा करिब पाँच करोडको हाराहारीमा फूलको कारोबार हुँदै आएकोमा तिहारमा मात्र दुई करोडको हाराहारीमा फूलको कारोबार हुने एसोसिएसनले जनाएको छ। जसमध्ये ४० प्रतिशतभन्दा बढी फूल देशका अन्य भूभागका साथै विदेशबाट समेत आउने गरेका छन्। पोखरा महानगरपालिकाले सयपत्री र मखमली मालाको मूल्य १०० रुपैयाँदेखि १८० रुपैयाँसम्म निर्धारण गरेको छ। स्थानीय उत्पादनलाई प्रयोग गर्न जोड दिँदै सानो मालाको १००, मध्यमको १५० र ठुलो मालाको १८० रुपैयाँ निर्धारण गरिएको महानगरले जनाएको छ।