एमालेलाई ठुलो दल बनाउन अध्यादेश ल्याउन खोजियो : नेपाल

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई ठुलो र बलियो बनाउने उद्देश्यसहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजिएको आरोप लगाएका छन् । समाजवादी प्रेस संगठनले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी ओलीले कांग्रेसलाई भ्रममा पारेर एमालेलाई ठुलो पार्टी बनाउने उद्देश्यका साथ अध्यादेश ल्याउन खोजेको बताए ।

आवश्यकताभन्दा पनि पूर्वाग्रहका साथ अध्यादेश ल्याएर साना दलहरूलाई आफ्नो स्वार्थअनुकूल फुटाउन लगाई एमालेमा समाहित गरी ठूलो पार्टी बनाउने उद्देश्य ओलीको रहेको नेपालले बताए । देशमा दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन खोजिएको उनको दाबी थियो । ओली नेतृत्वको सरकारले भ्रष्टाचार रोक्न नसकेको, सुशासन कायम गर्न नसकेको, जल्दाबल्दा समस्या समाधान गर्न इमानदार भएर काम नगरेको आरोप नेपालले लगाए । सरकारले कामभन्दा बोल्ने मात्र गरेको आरोप लगाउँदै उनले जनताको पीडा सम्बोधन र समाधान गर्न नसकेको, विपत्मा सरकारको भूमिका देखाउन नसकेको, सहकारीपीडितका समस्या सम्बोधन गर्न नसकेको उनले बताए । सहकारी ठगीमा दोषी देखिएकालाई छाड्ने र निर्दोषलाई फसाउने काम नहोस् भन्दै निष्पक्ष छानबिन गर्न, सहकारीहरूको अनुगमन प्रणालीलाई बलियो बनाउनसमेत सरकारलाई उनको आग्रह थियो ।

नेपालले आगामी १५ मंसिरका लागि तय भएको स्थानीय तह–उपनिर्वाचनमा पार्टी एक्लै प्रतिस्पर्धामा उत्रने बताए । यसअघिका निर्वाचनमा अन्य दलहरूसँग मिलेर गए पनि यसपटक भने पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने बताए । निर्वाचनका लागि पार्टीले केही स्थानमा आफ्ना उम्मदेवार घोषणा गरिसकेको उनले जानकारी दिए । 

सुझावित समाचार