महोत्तरीको पिपरा गाउँपालिका– ७ दनौली चौरीस्थित स्थानीय अशोक ठाकुरको आँप बगैँचामा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
अन्दाजी २५–२६ वर्षकी कालो लेगिज र हल्का पहेँलो रंगको कुर्ती लगाएकी महिलाको शव आँप बगैँचाको आलीमा भेटिएको हो। मृतकको अनुहारमाथि ओढ्ने सल राखेर जलाइएको हो । सोमबार बिहान स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलको कमान्डमा प्रहरी टोली घटनास्थल आइपुगेर अनुसन्धान सुरु गरेको छ ।
एसपी पोखरेलले मृतकको परिचय खुल्न नसकेको बताए । प्रहरीले घटनास्थल सुरक्षित राखी मुचुल्का उठाउने काम गरिरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलालप्रसाद जयसवार, प्रहरी निरीक्षक विशाल सिंह र वडाध्यक्ष मधुवेन्द्र झासमेत उपस्थित छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटना बीभत्स भएको देखिएको छ ।