कञ्चनपुर भीमदत्त नगरपालिकाको एक वृद्धसेवा केन्द्रमा खाद्यान्न संकट उत्पन्न भएको छ। दाताहरूबाट सञ्चालनमा रहेको भीमदत्त नगरपालिका– ५ वनखेत महेन्द्रनगरको वृद्धाश्रममा खाद्यान्न संकट उत्पन्न भएको हो। १८ वर्षदेखि सञ्चालनमा आएको महिला तथा वृद्ध सेवा केन्द्रमा खाद्यान्न संकट भएको जनाइएको छ । बिहीबार महिला तथा वृद्ध सेवा केन्द्रले पत्रकार सम्मेलन नै गरेर अब वृद्धाश्रम सञ्चालन गर्न नसकिने घोषणा गरेको छ।
महिला तथा वृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा चन्दले कोरोना महामारीसँगै स्थानीय, केन्द्र सरकारले दिँदै आएको अनुदान कटौती र विभिन्न निजी दाताहरूले दिँदै आएको खाद्यान्न दिन छाडेपछि आश्रममा समस्या भएको बताइन्। ‘विगतमा स्थानीय र केन्द्रीय सरकारले हरेक वर्ष नगद एवं सक्दो सहयोग गर्दै आएको थियो,’ ‘उनले भनिन्, ‘०७४ देखि स्थानीय भीमदत्त नगरपालिका सरकारले समेत अनुदान कटौती गरिदियो, अहिले खाद्यान्न संकट भएको छ ।’ आश्रमकै आन्तरिक आम्दानी गर्दै आएको कुखुरापालन पनि गत असारमा आएको बाढीले बगाइदिएपछि थप संकट गरेको बताइन् । ‘हामीसँग अहिले यहाँ ६३ जना ज्येष्ठ, असक्त आमाबाबु महिला तथा बालबालिका छन्,’ उनले भनिन्, ‘उनीहरूको उपचार, भरणपोषण त परै जाओस् दैनिक खाने अन्न पनि छैन ।’
विगतमा अधियाँ गरेर खाने गुजारा चलाए पनि अहिले अधियाँ बनाउन सक्ने अवस्था नभएकाले अब आश्रम सरकारले ग्रहण गरिदिनुपर्ने उनको दुःखेसो छ । गत वर्ष सुदूरपश्चिम प्रदेशको सामाजिक विकास कार्यालयबाट तीन लाख २१ हजार ९१८ सहित विभिन्न निकायबाट आएको पाँच लाख ५९ हजार ४१८ रुपैयाँ मात्रै आम्दानी भएको र झन्डै ३३ लाख १४ हजार ७६० रुपैयाँ खर्च भएको बताइन् । ‘हामीले बजारबाट ल्याएको रासनसहितको सामानको रकम तिर्न बाँकी छ,’ उनले भनिन्, ‘साहुले एकातिर दैनिक ताकेता गरेको छ, हामीले अब कसरी चलाउने यो वृद्धाश्रम ? स्थानीयदेखि केन्द्रीय सरकारलाई अनुयायी गर्दासमेत केही पहल भएन । यस्तै अवस्था रहे भोकमरी हुने देखिएको छ ।’
विगतमा च्याउखेती, मुठ्ठी दान र विभिन्न सरकारी, गैरसरकारी निकायबाट आर्थिक, भौतिक सहयोग लिएर सञ्चालन हुँदै आएको आश्रम अहिले संकटमा रहेको उनले बताइन् । ‘मैले ०७९ मा चुनाव लड्दा आफू संलग्न रहेको पार्टी कांग्रेस परित्याग उहिल्यै गरिसकेकी थिएँ,’ उनले भनिन्, ‘अब त म स्वतन्त्र भइसकेँ, सबैले सहयोग गर्नुपर्नेमा झन् घटिरहेको छ, किन मैले पार्टी परित्याग गर्दा सहयोग पाइराखेको छैन, त्यो बुझ्नै सकिएको छैन ।’
अध्यक्ष चन्दले हालसम्म तीन हजार ३३६ ज्येष्ठ नागरिकको पुनर्स्थापना, एक सय दुईकाे बेवारिसे शव दाहसंस्कार गरिएको बताइन् । उनले सहयोगका लागि सरकारी, गैरसरकारी निकाय तथा दाताहरूलाई आग्रह गरेकी छिन् ।