संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पहिलो एक सय दिनको अवधिमा नागरिक उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक तयार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयारजस्ता दूरगामी महत्त्वका कामहरू भएको बताएका छन्।
वर्तमान सरकार गठन भएको सय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरूबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पाण्डले यस्तो दाबी गरेका हुन्।
उनले नेपाल एयरलाइन्सलाई सुधार गरी लैजान यसको व्यवस्थापनलाई कुन मोडलमा लैजाने भन्ने विषयमा गम्भीर छलफल थालिएको तथा नेपालमा पटकपटक भएको हवाई दुर्घटना र त्यसपछि गठित आयोगका अध्ययन प्रतिवेदनले औँल्याएका विषयमा समग्र अध्ययन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन गरिएको उल्लेख गरे।
उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रूपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा दर्ता गर्न स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिएको जानकारी दिँदै ती विधेयक संसद्को आगामी अधिवेशनमा पेस भई पारित गर्न पहल हुने स्पष्ट पारे।
यसैगरी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहनसहितको कार्ययोजनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यही कात्तिक २४ गतेदेखि जजिरा एयरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यतालिका स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए।
यसैबिच देशका विभिन्न भागमा भएका बाढी र पहिरोबाट उत्पन्न विपद्का वेला मन्त्रालयले यातायात सेवा अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाएको र यसबाट यात्रुलाई सहज भएको बताए।
अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआएसम्म वायुसेवा कम्पनीले स्वीकृत हवाई भाडादरको अधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको मन्त्री पाण्डेले उपलब्धिमा समेटेका छन्। नेपाल र फ्रान्सबिच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारीपत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको, नेपाल र इन्डोनेसियाबिच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
मन्त्रालयले यस अवधिमा सौर्य एयरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरिएको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझावहरू कार्यान्वयनका लागि निर्देशन दिएको जनाएको छ। मन्त्री पाण्डेले भने, ‘यस अवधिमा पर्यटन विधेयक, संघीय संसदमा दर्ता गर्न स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिएको छ। क्यासिनो नियमावली, स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिएको छ। पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ संशोधनका लागि मन्त्रिपरिषदमा पेस गरिएको छ।’
त्यस्तै, नेपालका पाँच हजार ८०० देखि ६ हजार ५०० मिटरसम्म उचाइका थप ५७ हिमाल आरोहणका लागि खुला गरिएको छ। पर्यटन विभागका सेवाहरू (पर्वतारोहण र होटेल व्यवस्थापन)लाई अनलाइन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको उनले जानकारी दिए। यस अवधिमा मन्त्रालयले ग्रेट हिमालयन ट्रेलको थप पाँच किलाेमिटर पदमार्ग निर्माण कार्य सम्पन्न गरिएको, हिमाल आरोहण र पदयात्राको क्रममा विपतलगायतको अवस्थामा रहेका करिब दुई सय पर्यटकहरूलाई उद्धार गरिएको जनाएको छ।
यस्तै प्रतिलिपि अधिकार विधेयक, २०८१ मस्यौदा तर्जुमा गरी सुझावका लागि नीति अनुसन्धान प्रतिष्ठानमा प्रेषित गरिएको, पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको, संघीय भाषा विधेयक र संग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको मन्त्री पाण्डेले बताए।
यस अवधिमा ललितपुरको गुइत टोलको चैत्यबाट हराई अमेरिकामा पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाणसहित नेपाल फर्काउन कूटनीतिक प्रक्रिया अघि बढाइएको तथा शंकर कीर्ति महाविहार, भगवानवहाल ठमेलबाट चोरी भएको पद्मपाणि लोकेश्वरको मूर्ति सोही स्थानमा पुनर्स्थापना गरिएको उनले बताए।