तुलसीपुरमा राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग

मंगलबार, ६ कार्तिक, २०८१
डिजिटल संस्करण

दाङकाे तुलसीपुरका होटेल व्यवसायीले राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग गरेका छन्। कोरोनापछि होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको भन्दै राति ११ बजेसम्म खोल्न पाउनुपर्ने माग राख्दै आएका हुन् । ‘कोरोनापछि सबैतिरको व्यापार ठप्प छ, झन् होटेल व्यवसायी मारमा छन्,’ कुमाख क्याफेका सञ्चालक तुफान केसीले भने, ‘यस्तो वेला होटेललाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।’

जिल्ला प्रशासन कार्यालयले ११ बजेसम्म खोल्न पाउने भनी पत्र दिएको भए पनि प्रहरीले ९ बजे नै बन्द गराउँदै आएको भन्दै यसले व्यवसायी थप मारमा पर्ने गरेको उनको भनाइ छ । ‘प्रहरीले जबर्जस्ती ९ बजे नै बन्द गराउँदै हिँडिरहेको छ,’ उनले भने, ‘यसले हामीलाई निकै मार परेको छ ।’ राति गाडीमा बाहिरबाट आउनेहरूलाई पनि मध्यनजर गर्नुपर्ने उनको भनाइ छ। बाहिरबाट राति ११–१२ बजेतिर आउने गरेको भन्दै त्यसरी आइपुग्ने यात्रुहरू कहाँ बस्ने चिन्ता हुने भन्दै यसतर्फ पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ । 

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले भने राति ९ बजे नै बन्द गर्ने त्यस्तो कुनै निर्णय नभएको बताए । उनले आफू देशबाहिर रहेकाले आएपछि निर्णय गर्ने बताए । भट्टी पसलहरूलाई मात्रै ९ बजे बन्द गर्न लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले बताए । 

होटेल कति वेलासम्म सञ्चालन गर्ने भन्ने कुरा कुनै निर्णय नभएको भए पनि स्थानीय प्रशासनले सुरक्षालाई मध्यनजर गरी निर्णय गर्न सक्ने दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । 

सुझावित समाचार