पाँचौँपटकको विस्तारमा गण्डकी मन्त्रिपरिषद्ले पूर्णता पायो

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

पाँचौँपटकको विस्तारपछि गण्डकी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। नौसदस्यीय मन्त्रिपरिषद् रहेको गण्डकीमा यसअघि आठ मन्त्री नियुक्त भइसकेका थिए। सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङबाट निर्वाचित भेषबहादुर पौडेललाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। कांग्रेसका पौडेल पार्टीमा शेखर कोइराला-गगन थापा समूहका हुन्।

यसअघि १७ भदौमा नेकपा एमाले सरकारमा सहभागी भएसँगै मन्त्रालय मिलान गर्ने क्रममा मनाङ १ (ख)बाट स्वतन्त्र निर्वाचित तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई सो मन्त्रालयबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएपछि असन्तुष्टि जनाउँदै उनले सोही दिन राजीनामा दिएका थिए। गुरुङको राजीनामापछि रिक्त रहेको मन्त्रालयमा ५०औँ दिनमा मुख्यमन्त्रीले पौडेललाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

१६ जेठमा पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएसँगै सोही दिन तीनसदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। त्यसपछि २९ जेठमा दोस्रो र १६ असारमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको थियो।

केन्द्रमा भएको नयाँ गठबन्धनअनुसार गण्डकीमा सत्ताघटक दलहरू एमाले र कांग्रेसबिच मन्त्रालयको भागबन्डा नमिल्दा एमाले सरकारमा सहभागी भएको थिएन। दुई दलले भागबन्डा मिलाउन तत्काल कायम सात मन्त्रालयमध्ये दुई मन्त्रालय फुटाएर नौ बनाउने सहमतिसँगै १६ भदौको मन्त्रिपरिषद् बैठकले दुई मन्त्रालय फुटाएर मन्त्रालयको संख्या नौ पुर्याउने निर्णय गरेको थियो।

सातबाट मन्त्रालय संख्या नौ पुर्याउने निर्णयसँगै १७ भदौमा एमालेका चारजनालाई मुख्यमन्त्री पाण्डेले मन्त्री नियुक्त गर्दै चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए।

सुझावित समाचार