मकवानपुरको मनहरी गाउँपालिकाका दुग्ध उत्पादक किसानहरूले अबदेखि महिनाको दुईपटक भुक्तानी पाउने भएका छन्। बिक्री गरेको दुधको रकम समयमै नपाएर समस्या झेल्दै आएका किसानले अबदेखि महिनाको दुईपटक भुक्तानी पाउने भएका हुन्।
गाउँपालिकाले हेटौँडा-१९, नेवारपानीमा रहेको निजी डेरी उद्योग हेटौँडा डेरी इन्डस्ट्रिज र दुग्ध उत्पादक सहकारीसँग सम्झौता गर्दै यस्ताे व्यवस्था गरेको हो। सम्झौताअनुसार कात्तिक १ गतेदेखि लागू हुने गरी किसानलाई महिनाको दुईपटक भुक्तानी दिइने भएको छ।
शुक्रबार मनहरी-८ मा रहेको साना किसान कृषि सहकारी संस्थामा औपचारिक कार्यक्रमका बिच सेवाको शुभारम्भसमेत गरिएको छ। गाउँपालिकाभित्र रहेका दुग्ध उत्पादक सहकारीसँगको पटक–पटकको छलफलपश्चात् सेवा शुभारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।
कृषकले उत्पादन गरेको दुधको भुक्तानीको सुनिश्चिततासँगै पालिकाले नै सहकारीमार्फत दुध खरिद गरी उद्योगसँग बजारीकरणको व्यवस्था मिलाइएको उनले बताए। किसानले बेचेको दुधको भुक्तानी समयमै पाउने गरी कार्यविधि बनाइएको अध्यक्ष कालाखेतीको भनाइ छ। यसअघि मनहरीका किसानले उत्पादन गरेको दुध जिल्ला दुग्ध उत्पादक सहकारीमार्फत बिक्री हुँदै आएको थियो।
गाउँपालिका अध्यक्ष कालाखेतीले अब दुधको भुक्तानीका लागि किसानले ४/५ महिना कुर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए। ‘दुधको भुक्तानी कैले आउँछ भन्ने प्रश्नको अब हल भएको छ। पहिलेजस्तो भुक्तानीका लागि अब ५/६ महिना कुर्नुपर्दैन,’ उनले भने, ‘दुध उत्पादक किसान र दुध संकलन गर्ने सहकारीसँग विभिन्न चरणको छलफल गरेर यहाँसम्म आइपुगेका हौैँ।’
सम्झौताबमोजिमकै समयमा भुक्तानी हुने जानकारी दिँदै त्यसको जिम्मेवारी पालिकाले लिने दाबी गरे। किसानले पाउनुपर्ने दुधको पुरानो बक्यौतासमेत मंसिर १० गतेभित्र भुक्तानी हुने उनको भनाइ छ।
मनहरी गाउँपालिकाबाट दैनिक ६ हजार ५ सयदेखि ७ हजार लिटरसम्म दुध उत्पादन हुँदै आएको साना किसान सहकारीका अध्यक्ष विमला कार्कीले जानकारी दिइन्। उनले वर्षौँदेखि किसानले झेल्दै आएको रकम भुक्तानीको समस्या अब समाधान हुने विश्वास व्यक्त गरिन्। सम्झौता कार्यक्रममा हेटौँडा डेरी इन्डस्ट्रिजका प्रदीप पौडेलसहित सहकारीका पदाधिकारी एवं दुग्ध उत्पादक किसानहरूको उपस्थिति थियो।