पर्वतको पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल

मंगलबार, २९ असोज, २०८१
डिजिटल संस्करण

साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादसैँपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढेको छ । बडादसैँ मनाएर सकिएपछि बिदाको दिनमा घुम्ने प्रचलन बढेसँगै आइतबारदेखि नै पर्यटकको चहलपहल उल्लेख्य मात्रामा बढेको हो । विभिन्न संघसंस्थामा अवलोकन भ्रमणको गन्तव्य पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जिपलाइन, नेपालकै अग्ला र लामा झोलुंगे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो ।

दसैँतिहारजस्ता चाडबाडका कारण पर्यटक बढी भित्रिएका हुन् । सरकारी वा सार्वजनिक बिदालाई पछिल्लो समय नेपालीले घुमघाम र मनोरञ्जन लिएर बिताउन थालेका छन् । हिउँदयामसमेत सुरु भएकाले पर्वत सदरमुकाममा दैनिक हजारौँको संख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् ।विगतका वर्षमा आन्तरिक पर्यटक मात्र आउने कुश्माका पर्यटकीयस्थलमा पछिल्लो समय बाह्य पर्यटकको संख्या बाक्लिन थालेको होटेल ड्रागनका सञ्चालक सुरेश केसीले जानकारी दिए।  पर्यटकको संख्या बढेसँगै कुश्मा बजारका होटेल भरिभराउ हुन थालेका छन् । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्मा बजारमा सुविधासम्पन्न होटेल थपिन थालेका छन् । मुस्ताङ तथा उपल्लो मुस्ताङ र कोरला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए ।

मुस्ताङ जाने पर्यटकले जाने वेलामा र फर्किने वेलामा बास बस्नका लागि होटेल बुकिङ गर्ने गरेको होटेल बन्दनाका सञ्चालकसमेत रहेका उनले जानकारी दिए । उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगन्ज, बर्दिया, दाङ, बुटवल, कपिलवस्तुलगायत क्षेत्रबाट शैक्षिक संघसंस्था, सहकारी संस्था, विभिन्न सामुदायिक संघसंस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउनेक्रम बढ्दो रहेको उनले बताए । कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ म्याग्दीतर्फ जाने गरेको होटेल व्यवसायीको भनाइ छ । 

दसैँलगत्तै सदरमुकामका होटेल भरिभराउ रहेको जनाइएको छ । बञ्जीजम्प र जिपलाइनमा एक हप्ताअघिदेखि नै टिकट बुक भइरहेको सञ्चालकहरूले बताएका छन् । अन्य दिनभन्दा शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाका दिनमा पर्यटकको चाप बढी हुने गरेको भए पनि यतिवेला लामो सरकारी बिदा भएकाले नियमितजसो भिडभाड हुन थालेको होटेल व्यवयायी सुनीलसिंह बानियाँले जानकारी दिए। यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्य मात्रामा आउन थालेको होटेल व्यवयायी राजु कार्कीले बताए । 

See More On

सुझावित समाचार