सांसदहरू जनताप्रति उत्तरदायी नभएर दलका नेताको ‘जी हजुरी’मा व्यस्त भए - प्रभु साह

शुक्रबार, २५ असोज, २०८१
डिजिटल संस्करण

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सांसदहरू पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकास नभएको बताएका छन्। महानपर्व दसैँ, शुभ दीपावली एवं छठपर्वको शुभ अवसरमा रौतहटको चन्द्रपुर नगरपालिकाको बालचनपुरमा आज आजपाद्वारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष साहले सांसदहरू जनताप्रति उत्तरदायी नभएको बताए। 

‘सांसदहरू दलको कारिन्दा भएका छन्। जनताबाट निर्वाचित भए पनि उनीहरू जनताप्रति उत्तरदायी भएन। उनीहरू दलप्रति उत्तरदायी भए। जनताको आवश्यकता, चाहना के हो बुझेनन्,  त्यसैले देशको विकास भएन्,’ उनले भने। 

जनताको मतबाट निर्वाचित सांसदहरूले जनताको आवश्यकता र चाहना बुझनुपर्ने उनले बताए। मुलुक र जनताको अवस्था गम्भीर संकटबाट गुज्रिरहेको बताउँदै साहले अहिले आर्थिक अवस्था कसरी हुन्छ माथि उठाउँदै मुलुकलाई समृद्ध बनाउनुपर्ने दिशामा लाग्नुपर्ने सांसदहरूले बाटो बिराएको उल्लेख गरे। 

दलका शीर्ष नेताहरूको हालीमुहाली गर्ने, जनताको कुरा सुन्नुपर्नेमा दलका नेताहरूको कुरा सुन्ने काम सांसदले गरिरहेकाले मुलुक समृद्धि नभएको उनले बताए। मुलुकको समस्या बुझ्ने र सोहीअनुसार कानुन निर्माणदेखि संसदमा भूमिका निर्वाह गर्नुको साटो सांसदहरू दलका नेताहरूको ‘जी हजुरी’ गर्नमा व्यस्त रहेको उनले बताए।  

सुझावित समाचार