इजरायलले लेबनानको मुख्यालयमा गोली चलाएको संयुक्त राष्ट्रसंघीय शान्तिसेनाको आरोप

शुक्रबार, २५ असोज, २०८१
डिजिटल संस्करण

लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय शान्तिसेना युनिफिलले बिहीबार मुलुकको दक्षिणमा रहेको आफ्नो मुख्यालयमा इजरायली ट्यांकले गरेको गोलाबारीमा आफ्ना दुई सदस्य घाइते भएको बताएको छ। 

इजरायली सैनिकहरू भने सीमामा हिजबुल्लाह लडाकुहरूसँग लडिरहेका छन् । 

‘आज बिहान नाकुरामा रहेको युनिफिलको मुख्यालयमा एउटा अवलोकन टावरतर्फ इजरायली रक्षा बल (आइडिएफ) को मेर्काभा ट्यांकले हतियार चलाएपछि दुई शान्ति सैनिक घाइते भए,’ युनिफिलले भनेको छ, ‘भाग्यवश यसपटक चोटहरू गम्भीर छैनन्, तर उनीहरू अझै अस्पतालमा छन्, युनिफिलको नाकुरा मुख्यालय र नजिकका स्थानहरूमा बारम्बार आक्रमण भएको छ ।’ 

युनिफिलका अनुसार इजरायली सेनाले बिहीबार रास नाकुरामा अर्को स्थानमा पनि आक्रमण गरेको छ । 

‘शान्ति सैनिकहरू आश्रय लिइरहेको बंकरको प्रवेशद्वारमा ट्यांकले आक्रमण गर्याे र सवारी साधनहरू तथा सञ्चार प्रणालीलाई क्षति पुर्यायो,’ शान्तिसेनाले भनेको छ, ‘एउटा आइडिएफ ड्रोनलाई राष्ट्रसंघीय स्थानभित्र बंकरको प्रवेशद्वारमा उडिरहेको देखिएको थियो ।’ 

करिब १० हजार शान्ति सैनिकहरू दक्षिण लेबनानमा तैनाथ रहेको युनिफिलले सेप्टेम्बर २३ मा इजरायल र हिजबुल्लाहबिच तनाव बढेदेखि युद्धविरामको आह्वान गरेको छ।

 ‘बुधबार आइडिएफ सैनिकहरूले जानाजान स्थानको परिधि–अनुगमन क्यामेराहरूमा गोली चलाए र तिनीहरूलाई असक्षम बनाए,’ शान्तिसेनाले भनेको छ, ‘उनीहरूले द्वन्द्व सुरु हुनुअघि नियमित त्रिपक्षीय बैठकहरू हुने गरेको स्थानमा पनि जानाजान गोली चलाउँदा प्रकाश व्यवस्था र एउटा रिले स्टेसनलाई क्षति पुर्यायाे । हामी आइडिएफ र सबै पक्षलाई संयुक्त राष्ट्रसंघीय कर्मचारी र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने र हरक्षण संयुक्त राष्ट्रसंघीय परिसरको अनुल्लंघनीयताको सम्मान गर्ने उनीहरूको दायित्वलाई सम्झाउँछौँ।’

सुझावित समाचार