प्राकृतिक प्रकोप बाढीपहिरोमा परी दिवंगत भएका खेलाडीको सम्झनामा दीप प्रज्वलन गरिएको छ। जिल्ला फुटबल संघ जुम्लाले सदरमुकाम खलंगास्थित कृष्ण मन्दिरको प्रांगणमा दीप प्रज्वलन गरेको हो।
असोज ११ र १२ गते मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका- ३ स्थित वाल्सत्यदेवी उमाविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरोमा परी निधन भएको खेलाडीहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हाे।
एन्फा जुम्लाका महासचिव दीपेन्द्र हमालका अनुसार दिवस बानियाँ, प्रियंस आचार्य, अनुपम धमान, साइमन योञ्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको पहिरोमा परी निधन भएको हो। उनीहरूको आत्माकाे चिरशान्तको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।
एन्फा जुम्लाका अध्यक्ष तथा केन्द्रीय सदस्य भरत बुढ्थापाले दीप प्रज्वलन गर्दै दिवंगत खेलाडीको आत्माको चिरशान्तिाको कामना गरेका छन् । उनले विपतका कारण कुशल खेलाडी गुमाउनुपर्दा दु:ख व्यक्त गरेका छन्।