दसैँ खर्च जोहो गर्न बालुवामा सुन खोज्दै रामप्रसाद

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

शनिबार दिउँसो चर्को घाममा राप्तीसोनारी गाउँपालिका– ६ ढलैयाका रामप्रसाद थारूको परिवार राप्ती नदीको बालुवामा सुन खोज्दै थिए । राप्तीको बगरमा खाल्डो खनेर निस्केको पानीमा परिवारका सदस्यसँगै उनी पनि सुन खोज्न व्यस्त थिए । सातजनामध्ये कोही बालुवा चाल्दै थिए, कोही बगरमा पानी निस्किने गरी गहिरो खाल्टो खन्दै थिए ।  थारूको परिवार दुई हप्तादेखि बाढीले फालेको बगरमा खाल्टो खनेर सुन खोज्दै आएका छन् । सिमल काठको डुँरमा बालुवा राखेर त्यसमा पानी हाल्दै गरेका उनीहरूले दिनमा तीन–चार लाल सुन फेला पार्छन् । 

बालुवामा रहेको सुन चाल्न उनले जेङ्ग्रा काठको करौँती बनाएका छन् । यही करौँतीमा बालुवा हालेर पानी हालेपछि बालुवा बग्छ र सुनको कण करौँतीमा थिग्रिन्छ । ‘सधैँ सुन पाइँदैन । बालुवामा भएको सुन निकाल्न सजिलो कहाँ छ र ?’ रामप्रसादले भने । दसैँ खर्च जोहो गर्न राप्ती नदीको बालुवामा सुन खोज्न आएको उनले बताए । ‘दसैँमा खर्च धेरै हुन्छ । देवतालाई चढाउन ६–७ वटा कुखुरा चाहिन्छ । छोरी–ज्वाइँ र अरू पाहुना आउँछन् । मासु किन्नै पर्यो,’ उनले भने, ‘छोराछोरी, बुहारी, नातिनातिनाका लागि नयाँ कपडा किन्ने पैसा नभएपछि बालुवामा सुन खोज्न आयौँ ।’ बालुवामा फेला परेको सुनलाई पगालेर एकत्रित गर्छन् । सुन पगाल्ने सीप पनि उनले लिएका छन् । ‘दिनभर दुःख गरेर सुन खोज्छौँ । व्यापारीले सस्तोमा लिन्छन्,’ उनले भने, ‘सुन खोजेर एकजनाको भागमा दिनमा ७–८ सय रुपैयाँ भाग पर्छ ।’

राप्तीको बालुवामा फेला परेको कण–कण सुनलाई आगोमा पगालेर नेपालगन्जका सुन व्यापारीलाई बिक्री गर्दै आएको उनले बताए । मिहिनेतअनुसार सुन फेला पर्दैन । मजदुरी गर्नुभन्दा बालुवामा सुन खोज्न राम्रो लाग्छ,’ बालुवामा सुन चाल्दै गरेकी शोभारानी थारूले भनिन् । 

चार महिला र तीन पुरुषले हरेक दिन पाँच घण्टा बालुवामा सुन खोज्छन् । बालुवामा सुन खोजेर उनीहरूको हात–खुट्टा बालुवाले खाएको छ । ‘दुःख भए पनि दसैँ खर्च जोहो गर्नैपर्यो । छोराछोरीले नयाँ लुगा चाहियो भन्छन् । उनीहरूका लागि भए पनि बालुवामा सुन खोज्न परेको छ,’ थारूले भनिन् । दसैँ नजिकिए पनि छोराछोरीका लागि नयाँ कपडा अझै किन्न नसकेको राजरानी थारूले बताइन् । बालुवामा फेला परेको सुन बिक्री गरेर नयाँ कपडा किन्ने उनको भनाइ छ ।

रामप्रसाद र उनको परिवारले १५ वर्षदेखि राप्ती नदीको बगरमा सुन चाल्दै आएका छन् । उनले बर्दियाका सोनाहासँग सुन चाल्ने सीप सिकेका हुन् । ‘बर्दियाबाट राप्ती नदीमा सुन चाल्न आएका थिए । उनीहरूसँग काम गरेर सुन चाल्ने सीप र सुन चाल्ने उपकरण बनाउन सिकेको उनले बताए । ‘बर्दियाबाट आएकासँग ज्यालादारीमा काम गरेँ । उनीहरूसँग काम गर्दैगर्दा सुन चाल्ने सीप र उपकरण बनाउन सिकेँ,’ उनले भने । 

राप्तीको सबै बगरमा सुन पाइँदैन । उनी पहिले सुन पाइने ठाउँको पहिचान गर्छन् । काठबाट बनाइएको करौँतीले पहिले सुन भएको ठाउँ पत्ता लगाउँछन् । ‘पहिले सुन हुने ठाउँको पहिचान गर्छु,’ उनले भने, ‘सुन भएको ठाउँको पहिचान सबैले गर्न नसक्ने भएकाले राप्तीको बगरमा म आफैँ गएर पत्ता लगाउँछु,’ रामप्रसादले भने । 

सुझावित समाचार