पश्चिम नेपालबाट बाहिरियो मनसुन

आइतबार, २० असोज, २०८१
डिजिटल संस्करण

नेपाली आकाशबाट मनसुन बाहिरिन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ।

त्यस्तै, कर्णालीका धेरै र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएको महाशाखाले आइतबार बुलेटिनमा उल्लेख गरेको छ।

‘मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ,’ महाशाखाले बुलेटिनमा भनेको छ।

मनसुनी वायु कमजोर हुन थालेकाले अब छिटफुट र हल्काबाहेक ठुलो वर्षाको पनि सम्भावना छैन।नेपालबाट पूर्ण रूपमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो भने भित्रिने औसत मिति जुन १३ हो। मनसुन पूर्वबाट बहने हावा हो। पश्चिमी वायुले पूर्वी वायुलाई विस्थापित गरेपछि क्रमिक रूपमा मनसुन बाहिरिन्छ।

मनसुन बाहिरिएपछि ‘पोस्ट–मनसुन’ सुरु हुन्छ। पोस्ट मनसुनमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहन्छ, तर मनसुनकोजस्तो ठुलो वर्षाको सम्भावना कम हुन्छ।

See More On

सुझावित समाचार