नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तीन प्रश्न

आइतबार, २० असोज, २०८१
डिजिटल संस्करण

बंगलादेशसँगको विद्युत् निर्यात सम्झौता हाम्रो समग्र विद्युत् विकासका लागि कति महत्वको छ ?
यो सम्झौता निकै ठुलो महत्वको छ । अहिले सांकेतिक रूपमा बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुने भए पनि भविष्यमा यसको निकै ठुलो दूरगामी र सकारात्मक प्रभाव देखिनेछ । बजार सुनिश्चित नभई हाम्रो जल विद्युत्मा लगानी आउँदैन । हाम्रो देशको जलविद्युत् विकासमा लगानी बढाउनकै लागि पनि हामीलाई रिजनल मार्केटको खाँचो थियो । हाम्रो रिजनल मार्केट भनेको भारत र बंगलादेश नै हुन् । भारतमा पहिल्यैदेखि विद्युत् निर्यात भइरहेको छ । अब बंगलादेशमा पनि सुरु भएको छ । यसले हाम्रो विद्युत् व्यापारका लागि बजार सुनिश्चित भएको छ । अहिले ४० मेगावाट निर्यात हुने भए पनि भविष्यमा प्रसारण लाइनको क्षमता विस्तार र हाम्रो उत्पादनमा वृद्धि भएसँगै आगामी १० वर्षको अवधिमा बंगलादेशमा पाँच हजार मेगावाट र भारतमा १० हजार मेगावाट विद्युत् निर्यात हुनेछ । यसले देशकै आर्थिक विकासमा ठुलो योगदान पुर्याउनेछ । 

बंगलादेशमा विद्युत् निर्यातका लागि हाम्रो तयारी कस्तो छ ?
अहिले भनिएको ४० मेगावाट निर्यातका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । यसमा गर्नुपर्ने तयारी केही बाँकी छैन । भविष्यमा प्रसारण लाइनको क्षमता पनि विस्तार हुँदै जान्छ र निर्यातको परिमाण पनि बढ्दै जान्छ । 

बंगलादेशमा विद्युत् निर्यात कहिलेदेखि सुरु हुन्छ ?
विद्युत् निर्यातका केही सामान्य औपचारिकता बाँकी छन् । ती छिट्टै पूरा हुनेछन् । र आगामी १५–२० दिनभित्रै बंगलादेशमा विद्युत् निर्यात सुरु हुनेछ । 

सुझावित समाचार