लुम्बिनी प्रदेशमा चाडपर्वलक्षित सुरक्षा योजना

सादा पोशाकमा प्रहरी परिचालनदेखि ड्रोन क्यामेराबाट अनुगमन गरिने

शनिबार, १९ असोज, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेशमा चाडपर्वलक्षित सुरक्षा योजना लागू भएको छ। दसैँ भित्रिएसँगै चाडपर्वलक्षित सुरक्षा योजनालाई कार्यान्वयन गर्न थालिएको हो। 

नेपाल प्रहरीको लुम्बिनी प्रदेश कार्यालयले पूर्व–पश्चिम लोकमार्गसहित अन्य सडक क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष निगरानी अभियान चलाएको छ।

सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, आरक्षण सिटको कार्यान्वयन गराउने, तीव्र गतिमा गुड्ने सवारीसाधनलाई निगरानीमा राख्नेजस्ता कामहरू प्रहरीले अगाडि बढाएको छ। 

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले सुरक्षा व्यवस्था मजबुत पार्न सादा पोसाकमा प्रहरी परिचालन गर्नेदेखि ड्रोन क्यामेराबाट निगरानी गर्नेसम्मका योजना अगाडि बढाएको बताए।

बजार क्षेत्रमा तथा सवारीसाधनमा समेत सादा पोसाकका प्रहरी परिचालन गरिने उनले बताए। नागरिकलाई सुरक्षित महसुस गराउन प्रहरी लागिपर्ने उनको भनाइ छ। 

तराई–मधेशका ६ जिल्लाका बजार क्षेत्रका अतिरिक्त सीमाक्षेत्रमा पनि विशेष निगरानी बढाइने प्रहरीले जनाएको छ। छठपर्वसम्मका लागि लागू गरिएको सुरक्षा योजनामा सुरक्षित यात्रा गराउनेमा जोड दिइएको छ।

सडक दुर्घटनाबाट हुने मानवीय क्षतिलाई घटाउने, चोरी, डकैती, लुटपाटजस्ता कुनै आपराधिक काम हुन नदिने, यात्रुहरूको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने गरी चाडपर्वलक्षित सुरक्षा योजना लागू गरिएको हो।

लुम्बिनी प्रदेशमा चाडपर्वलाई लक्षित गरेर सात हजार ६ सय ४४ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसका लागि गण तथा विपत गुल्मबाटसमेत जनशक्ति थप गरिएको छ।

पूर्व–पश्चिम लोकमार्गमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएका छन्। मानिसहरूको भिडभाड हुने क्षेत्रको पहिचान गरेर यस्ता सहायता कक्षा स्थापना गरिएको छ। योसँगै बजार अनुगमनलाई पनि एकीकृत रूपमा अघि बढाइएको छ। तीन तहकै सरकारको सहभागितामा एकीकृत रूपमा बजार अनुगमनलाई अघि बढाइएको हो।

सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गरौँः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चाडवर्पलक्षित विशेष सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्। 

उनले दसैँ मनाउन सहरबाट गाउँ भित्रिने क्रम बढ्ने भएकाले यो समयमा सुरक्षित यात्राको प्रबन्ध मिलाउन मातहतका निकायलाई निर्देशन जारी गरेका हुन्। चाडपर्वका वेला सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राखेर तयारी अवस्थामा रहन पनि उनले निर्देशन दिए। 

चार्डपर्वको समयमा सवारीसाधनमा चाप बढी हुने र यस्तो अवस्थामा यात्रुहरू ठगिन सक्ने जोखिम रहेकाले यस्ता गलत कामहरू हुन नदिन चाडपर्वलक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने उनको भनाइ थियो।

सुझावित समाचार