जोखिमपूर्ण ढंगबाट यात्रु बोक्ने बोलेरो जिपहरूलाई कारबाही गरिएको छ। जिल्लाका ग्रामीण क्षेत्रमा जोखिमपूर्ण रूपमा यात्रु ओसारपसार गर्ने बोलेरो जिपलाई कारबाही गरिएको हो। शुक्रबार धादिङ जिल्लाको ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावतीलगायतका गाउँपालिकाको विभिन्न बस्तीहरूबाट बोलेराेको छतमा समेत राखेर यात्रु ओसारपसार गर्ने पाँचवटा बोलेरो जिपलाई जरिवानासहित कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।
‘छतमा राखेर यात्रु ओसारपसार गर्ने, यात्रु बोक्ने अनुमतिसमेत नभएका सवारीसाधनले क्षमताभन्दा बढी यात्रु राखेर जोखिमपूर्ण ढंगले सवारी चलाउनेसमेत गरेपछि पछिल्लो दुई दिनमा ३२ वटा सवारी कारबाहीमा परेका छन्,’ उनले भने, ‘प्रयोजनविपरीत सञ्चालित तीन, छतमा समेत राखेर यात्रु बोक्ने १४, सवारीसाधनको अवस्था ठिक नभएका पाँचवटासहित ३२ वटा सवारीसाधनलाई कारबाही गरिएको हो।’
सडक सञ्जाल सहज नभएका ग्रामीण बस्तीहरूबाट बोलेरो जिपहरूले सर्वसाधारणलाई सदरमुकाम धादिङबेँसी ल्याउने-लैजाने गर्छन्। सडक सञ्जाल पुगेपनि जिल्लाको अधिकांश भागमा यात्रुबाहक बस सञ्चालन हुने सडक नभएपछि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। यही मौका छोपेर यात्रु बोक्ने अनुमतिसमेत नभएका बोलेरो जिपहरूले मनोमानी ढंगबाट भाडा असुलेको गुनासो व्यापक भएपछि ट्राफिक प्रहरीले चेकजाँचलाई कडाइ गरेको हो।
वर्षातको समयमा भत्किएको बाटो मर्मत हुन नसक्दा ग्रामीण भेगमा ठुला यात्रुबाहक बस पुग्न सक्ने अवस्था छैन। बोलेरो जिप चल्ने सडकमा ठाउँ-ठाउँमा सादा पोसाकका प्रहरीसमेत खटाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
विभिन्न बहानामा यात्रु ठगिनबाट जोगाउन सदरमुकाम धादिङबेँसीको पुछार बजारमा यात्रु सहायता कक्षसमेत स्थापना गरेको छ। जुनकुनै कारण समस्यामा परेका वा अप्ठ्यारोमा परेका यात्रुहरूले सहायता कक्षमा उजुरी गर्न पाउने व्यवस्था मिलाइएको छ।