इजरायललाई लगातारको वित्तीय एवं सैन्य सहयोगले अमेरिका द्वन्द्वमा ‘तानिएको’ देश होइन कि एक सक्रिय आक्रमणकारी देश रहेको जनाउँछ
गत साता बेरुतमा हिजबुल्लाहका महासचिव हसन नसरल्लाहको हत्या र जुलाईमा तेहरानमा गरिएको हमासका राजनीतिक प्रमुख इस्माइल हानियेको हत्याको बदला लिन इरानले अस्ति इजरायलमाथि क्षेप्यास्त्र प्रहार गर्यो । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलतर्फ प्रहार हुने मिसाइलहरूलाई निष्क्रिय पार्नमा इजरायललाई सहयोग गर्न अमेरिकी सेनालाई निर्देशन गरे । इजरायल पहिलेदेखि नै आफूलक्षित क्षेप्यास्त्र एवं रकेटलाई आकाशमै निष्क्रिय बनाउने अत्यन्त परिष्कृत सुरक्षाकवचका विभिन्न तहबाट सुसज्जित छ, जसले आफ्नो तर्फ न्यूनतम क्षतिमै गाजा र लेबनान दुवैतर्फका मानिसको हत्या गर्न उसलाई समर्थ बनाएको छ ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ‘अमेरिकी नौसैनिक ‘डेस्ट्रोयर’हरूले इन्टरसेप्टर प्रहार गरी क्षेप्यास्त्र खसाल्ने कार्यमा इजरायली वायु रक्षा एकाइसँग सहकार्य गरेको’ घोषणा गरे । उनले इजरायली सेनाको ‘व्यावसायिकता’को प्रशंसा गर्दै ‘अमेरिकी सेनाको कार्य कुशलता र आक्रमणको पूर्वानुमानअनुरूप सचेत संयुक्त योजना’को प्रशंसा पनि गरे ।
निःसन्देह, गाजापट्टीमा इजरायलबाट जारी प्यालेस्टिनीहरूको नरसंहारलाई विफल पार्न बाइडेन प्रशासनबाट एकपटक पनि इमानदार प्रयास भएको छैन । गाजामा आधिकारिक रूपमा एक वर्षभन्दा कम समयमै ४१ हजारभन्दा धेरै मानिस मारिएका छन् । तर, वास्तविक मृत्युको संख्या योभन्दा निकै उच्च रहेकोमा शंका छैन । कथित यतिविधि कार्यकुशल अमेरिकी सेनाले न त लेबनानमा एक हप्ताभन्दा कम समयमै सात सयभन्दा बढी मानिसको ज्यान लिइसकेको निर्मम इजरायली नरसंहारमा हस्तक्षेप गर्न नै आवश्यक ठानेको छ ।
थुप्रै अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अमेरिका अब क्षेत्रीय युद्धमा तानिने चेतावनीहरू दिइरहेका छन्, जुन चेतावनीका स्वर इरानी मिसाइल आक्रमणपछि झनै बढेको छ । तर, अमेरिका कतै पनि ‘तानिएको’ छैन । जारी नरसंहार सुरुवात हुनुअघि नै इजरायली सेनामाथि वार्षिक रूपमा अर्बाैं डलर खर्च गर्ने अमेरिकी प्रवृत्तिले उसलाई प्यालेस्टाइनीहरूलाई नामेट बनाउन इजरायली प्रयासमा प्रत्यक्ष रूपमा नै संलग्न बनाइसकेको कुरा स्पष्ट छ । बाइडेनको इजरायललाई विनाशक हात–हतियारको आपूर्ति बन्द गर्ने तारन्तारका धम्कीका बाबजुद गत ७ अक्टोबरयता इजरायली सेनामाथिको अमेरिकी खर्च केही गुणाले बढेको छ ।
गत अगस्टमा बाइडेन प्रशासनले आफ्नो युद्ध–साझेदार इजरायललाई २० अर्ब डलरको हतियार प्याकेज स्वीकृत गरेको थियो । साथै, २६ सेप्टेम्बरमा समाचार संस्था रोयटर्सले ‘आफूले अमेरिकाबाट जारी सैन्य प्रयासलाई सघाउन र यो क्षेत्रमा गुणात्मक सैन्य धार कायम राख्न आठ अर्ब ७० करोड डलरको सहायता प्याकेज प्राप्त गरेको’ इजरायलको भनाइलाई समाचार बनाएको थियो ।
उक्त प्याकेजमा युद्धकालीन आवश्यक खरिदका लागि साढे तीन अर्ब अमेरिकी डलर छुट्याइएको र आयरन डोम एन्टी–मिसाइल प्रणाली, डेभिड्स स्लिंग (क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली)का साथै उन्नत लेजर प्रणालीसहितको वायु रक्षा प्रणालीका लागि पाँच अर्ब २० करोड डलर रहेको छ । अर्काे शब्दमा भन्दा आतंकवादको रूपमा व्याख्या गर्न योग्य आफ्ना अपराध कार्यविरुद्धका वैध प्रतिक्रियाबाट आफूलाई रक्षा गर्न ऊ अझ समर्थ हुनेछ ।
अमेरिकाले इजरायललाई लगातार प्रदान गरिरहेको वित्तीय एवं सैन्य सहयोगले उसलाई द्वन्द्वमा ‘तानिएको’ देश होइन कि हरतरहले द्वन्द्वमा सक्रिय एक आक्रमणकारी देश रहेको जनाउँछ । इजरायलले दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा गरेको घातक आक्रमणको जवाफमा इरानले गत अप्रिलमा इजरायलमाथि सयौँ ड्रोन र क्षेप्यास्त्रले आक्रमण गर्दा पनि अमेरिकाले इजरायललाई सहयोग गरेको थियो । त्यस अवसरमा पनि इरानको प्रतिक्रियालाई जवाफी कार्यका रूपमा लिइएन । इरानलाई आतंकवादी आक्रमणकारीको रूपमा चित्रित गरियो ।
यसबिच, सन् २००३ मा इराकमाथि अमेरिकाले गरेको विध्वंसलाई स्मरण आउँछ । अमेरिका दशकौँदेखि आफूलाई क्षेत्रीय युद्धमा घसिट्ने काममा लागिरहेको कुरा स्मरण गर्नु उपयोगी हुन्छ । यसर्थ, सामूहिक नरसंहारको पृष्ठभागमा अमेरिकालाई एकपटक केन्द्रमा पाउनु कुनै आश्चर्यको होइन । सन् २००६ मा यमनको विवाह समारोहमा भएका अमेरिकी ड्रोन आक्रमणदेखि लेबनानको विध्वंसमा सहयोग पुर्याउन इजरायली सेनालाई बम पठाउनेसम्मका घटनाले अमेरिका मध्यपूर्वको द्वन्द्वमा कहिल्यै नछुटेको देखिन्छ ।
हुनत, बाइडेन प्रशासनले गाजामा युद्धविराम चाहेको दाबी गरिरहेको छ, तर नरसंहार जारी रहेको अवस्थामा नरसंहारकारी पक्षलाई अर्बौं अर्ब डलरका हातहतियार उपलब्ध गराउने मार्ग भएर युद्धविरामको बाटो जाँदैन । ‘यो आक्रमणको (इरानले) गम्भीर परिणाम भोग्नुपर्नेछ र त्यसका लागि हामी इजरायलसँग मिलेर काम गर्नेछौँ,’ मंगलबारको ब्रिफिङमा सुलिभानले मंगलबार यस्तो चेतावनी दिए । यसको अर्थ अमेरिकाले इजरायलसँग मिलेर क्षेत्रीय अशान्ति मच्चाउने काममा आफ्नो भूमिकालाई जारी राख्नेछ र थप विनाशका लागि प्रयास गर्नेछ । सुलिभानले यो ‘युद्धको बादल’ मडराएको स्थिति भएको र आफ्नो प्रारम्भिक मूल्यांकनलाई ‘आवश्यक रूपमा संशोधन र समायोजन’गर्ने अधिकार आफूसँग सुरक्षित रहेको कुरामा पनि जोड दिए । तर, पछिल्लो युद्धको बादलमा पनि एउटा कुरा भने स्पष्ट दृष्टिगोचर हुन्छ– अमेरिका पहिलेबाटै युद्धको एउटा प्रमुख पक्ष हो ।
(फर्नान्डेज अलजजिराकी स्तम्भकार हुन्) अलजजिराबाट