नेपालका युवाहरूलाई जलवायु नीति निर्माणमा सहभागी गराउने उद्देश्यसहित तीनदिने कार्यशाला आजदेखि चितवनमा सुरु हुँदै छ। चितवनको रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमकाे सभाहलमा हुने सो कार्यक्रम क्लाइमेट्स नेपाल, क्लाइम एडप्ट र ओपन डाइलग अन क्लाइमेट चेन्जले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् ।
नेपालको जलवायु संकट र यससँग जुधिरहेको समुदायहरूको आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्य सो कार्यक्रम राखेको आयोजक संस्थामध्येका एक क्लाइमेट्स नेपालकी अध्यक्ष पूजा पोखरेलले जानकारी दिइन्।
कार्यक्रममा देशका सातै प्रदेशबाट ३५ जना युवा सहभागी हुनेछन् । जसमा महिला, आदिवासी समुदाय र पछाडि परेका समुदायका सदस्यहरूलाई प्राथमिकता दिएको छ।
यस कार्यक्रमले युवाहरूलाई जलवायु नीति तर्जुमा गर्न सहयोग प्रदान गर्नेछ । यस कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा जलवायु परिवर्तनसम्बन्धी नीति निर्माणमा युवाहरूलाई सक्षम बनाउने विश्वाससमेत आयोजकले लिएका छन् ।
जलवायु परिवर्तनको चपेटामा यतिखेर विश्व समुदाय परे तापनि यस विषयमा पर्याप्त ज्ञानको अभावमा यसका असरहरूको न्यूनीकरणमा छलफल हुन नसकिरहेको अवस्थामा याे कार्यक्रम कोसेढुंगा हुने आयोजकको विश्वास छ ।
यसले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय स्तरमा छलफल गर्न र नीति निर्माण प्रक्रियामा प्रत्यक्ष संलग्न गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । पहिलो दिनको उद्घाटन सत्रमा जलवायु परिवर्तनका विषयमा चर्चा गरिनेछ भने दोस्रो र तेस्रो दिनहरूमा सहभागीहरूलाई नीति तयारी तथा समूहगत छलफलमा संलग्न गराइनेछ।