नवलपुरमा यात्रु सहायता कक्ष स्थापना

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

नवलपुरका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। दसैँको वेला यात्रुहरूमा हुन सक्ने दुर्व्यवहार, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु राखेर दुर्घटनाको जोखिम बढाउने भएकाले त्यसलाई रोक्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जराले बताए । 

पहिलो दिन बिहीबार सदरमुकाम कावासोतीसहित चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको र थप दुई स्थानमा पनि यात्रु सहायता कक्ष स्थापना गरिने बन्जराले बताए। कावासोतीमा स्थापना गरिएको यात्रु सहायता कक्षको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले उद्घाटन गरे ।

 यात्रु सहायता कक्षको स्थापना गर्दै ढकालले यात्रु सहायता कक्ष देखाउनका लागि मात्र भन्दा पनि कार्यान्यवनमा लैजाने बताए। त्यसैगरी आजदेखि नै नवलपुरमा सवारीचालकहरूको लापसे पनि चेकजाँच सुरु गरिएको छ। आज बिहान नमुनाको रूपमा एकजना बसचालकको लापसे (लागु औषध सेवन) चेक गरिएको थियो । 

त्यसैगरी, आजदेखि नै कावासोतीमा चाडपर्वलक्षित गरी लामो दूरीका यात्रुहरूलाई रातिको समयमा केहीबेर विश्राम गर्न रिफ्रेस सेन्टर पनि स्थापना गरिएको छ । कार्यक्रममा यहाँका स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, प्रहरी, ट्रापिक प्रहरीलगायतको सहभागिता रहेको थियो ।

सुझावित समाचार