रास्वपाले गरायो तीनवटै तहका सरकारको ध्यानाकर्षण

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपत् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडादरलगायत विषयमा एकैपटक तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको छ। 

केन्द्रीय उद्योग तथा वाणिज्य विभागको नेतृत्वमा संघीय सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति र संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र सबै स्थानीय सरकारका प्रमुख तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा हिजो र आज ध्यानाकर्षणपत्र बुझाउँदै तीनवटै सरकारको ध्यानाकर्षण गराएको हो।

रास्वपाले बाढीपहिरो र डुबानका कारण ज्यान गुमाएकाको परिवारलाई उचित राहत, बेपत्ताको खोजी, घाइतेको उपचार, घरबारविहीनलाई सहज अस्थायी बसोवास तथा खानपिनको व्यवस्था, बेलिब्रिजको प्रबन्धसहित अवरुद्ध सडक सकेसम्म छिटो सञ्चालन वा वैकल्पिक सडकको व्यवस्थापन गर्न माग गरेको छ।

यस्तै, चाडपर्व नजिकिँदा अनावश्यक सञ्चय गरी उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारीलाई प्रश्रय दिने, व्यापारी स्वयंले चरम मूल्यवृद्धि गर्ने तथा उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त नगर्ने समस्या बढेको जनगुनासोबिच व्यापारीलाई आतंकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएको छ। 

रास्वपाले विपतका कारण जोखिमयुक्त रहेका कतिपय सडकमा व्यवसायीले सार्वजनिक सवारीसाधन चलाएर आफूखुसी भाडा असुल्ने गरेको भन्दै नियन्त्रणका लागि ध्यानाकर्षण गराएको छ। यसैगरी, चाडबाड नजिकिएका वेला हवाई यात्रा गर्नुपर्ने बाध्यतात्मक परिस्थितिमा सरकारले नै न्यूनतम भाडादरमा हवाई टिकटको सुनिश्चितता गर्न माग गरेको छ।

सरकारले तोकेको भाडादरको पूर्ण कार्यान्वयनसहित कृत्रिम अभाव सिर्जना गरी चर्को भाडा असुल्नेलाई कारबाही गर्न पनि रास्वपाले माग गरेको छ। सार्वजनिक यातायातका साधनको यान्त्रिक परीक्षण गरी मापदण्ड पूरा गरेको यकिन हुने व्यवस्था तथा लामो दूरीमा चल्ने सवारीसाधनमा दुईजना चालक राख्ने प्रबन्धको कडाइका साथ अनुगमन गर्न पनि रास्वपाले तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको रास्वपाको उद्योग तथा वाणिज्य विभागका प्रमुख तथा सांसद गणेश पराजुलीले जानकारी दिए।

सुझावित समाचार