बाढीपहिरोले घटे भारतीय पर्यटक

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

नेपालमा परिरहेको अविरल वर्षा, बाढीपहिरो र दुर्घटनाको त्रासले भारतीय पर्यटक घटेका छन् । यस वर्षको सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सेप्टेम्बरमा सन् २०२४ कै सबैभन्दा कम भारतीय पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सेप्टेम्बरसँग तुलना गर्दा यस वर्ष भारतीय पर्यटकको संख्या २२ प्रतिशतले कम रहेको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए । सेप्टेम्बर २०२३ मा २८ हजार ६९४ भारतीय पर्यटक नेपाल घुम्न आएको तथ्यांक छ ।

भारतीय पर्यटक घटेपछि कुल पर्यटक संख्यामा भारतीयको हिस्सा पनि घटेको छ । चालू वर्षकै अघिल्लो महिना अगस्टमा कुल पर्यटकमा भारतीयको हिस्सा ३५ प्रतिशत रहेकोमा सेप्टेम्बरमा घटेर २३.९ प्रतिशतमा सीमित भएको छ । ८ भदौमा तनहुँको आँबुखैरेनी– २ ऐनापहरामा भारतीय पर्यटक चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । ४३ जना सवारमध्ये १६ जना घाइते भएका थिए । गोरखपुरबाट नेपाल आएका उनीहरू लुम्बिनी र पोखरा घुमेर काठमाडौंमा पशुपति दर्शनका लागि आउँदै गर्दा दुर्घटनामा परेका थिए ।

साउन र भदौमा नेपालमा थुप्रै सडक दुर्घटना भएका छन् । दुईवटा हवाई दुर्घटना भए । जसले गर्दा भारतीय पर्यटक आगमनमा असर परेको पर्यटन बोर्डका निर्देशक लामिछानेको अनुमान छ । सडक दुर्घटनाले भारतीय र हवाई दुर्घटनाले युरोप तथा अमेरिकी पश्चिमा पर्यटक आगमन प्रभावित भएको देखिन्छ ।

भारतीय पर्यटक घट्दा अमेरिकन पर्यटक आगमन भने बढेको देखिन्छ । सेप्टेम्बरमा अमेरिकाबाट १० हजार ८४ पर्यटक नेपाल घुम्न आएका छन् । अगस्टमा कुल पर्यटकमा अमेरिकी पर्यटकको हिस्सा ८ प्रतिशत रहेकोमा १२ प्रतिशत पुगेका छन्। एउटा हेलिकोप्टर र एउटा जहाज दुर्घटनाका कारण अगस्टमा युरोपियन र अमेरिकन पर्यटक आगमन घटेको थियो ।

 सेप्टेम्बरमा भित्रिए ९६ हजार पर्यटक
सेप्टेम्बरमा विभिन्न देशबाट ९६ हजार ३०५ पर्यटक भित्रिएका छन्।  यो संख्या सेप्टेम्बर २०२३ को तुलनामा ५.८२ प्रतिशत र कोभिड महामारी सुरु हुनुअघि सेप्टेम्बर २०१९ को तुलनामा ४ प्रतिशतले धेरै रहेको पर्यटन बार्डले जनाएको छ । 
सेप्टेम्बर २०२३ मा ९१ हजार १२ र सेप्टेम्बर २०१९ मा ९२ हजार ६०४ पर्यटक नेपाल आएको तथ्यांक छ । नेपालको पर्यटन इतिहासमा सन् २०१९ मा अहिलेसम्मकै धेरै पर्यटक (करिब १२ लाख) नेपाल घुम्न आएका थिए ।

धेरै पर्यटक आउने प्रमुख १० देश
सेप्टेम्बरमा पनि सबैभन्दा धेरै पर्यटक भारतबाटै आएका छन् । भारतबाट २२ हजार ९८४, अमेरिकाबाट १० हजार ८४, चीनबाट आठ हजार ४१, अस्ट्रेलियाबाट पाँच हजार ३८, श्रीलंकाबाट चार हजार ९१५, युकेबाट चार हजार ४९३, बंगलादेशबाट चार हजार १०३, जर्मनीबाट दुई हजार ७०४, साउथ कोरियाबाट दुई हजार ३५१, मलेसियाबाट दुई हजार २८० पर्यटक नेपाल घुम्न आएका छन् ।

सुझावित समाचार