धनुषा जिल्लास्थित मुखियापट्टि मुसरनियाका तरकारी कृषकहरू जैविक खेतीतर्फ आकर्षित हुन थालेका छन्। तरकारी खेतीका लागि सोही क्षेत्रमा नाम कमाउन सफल मुखियापट्टि मुसरनियाका कृषक बिस्तारै विषादी प्रयोगलाई कम गर्दै जैविक खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
पछिल्लो एक वर्षदेखि मुखियापट्टि मुसरनियाको वडा नं. १, ३ र ५ मा ‘इस्ट वेस्ट एग्रोभेट कन्सर्न’ जनकपुरले जिजिजिआईसँगको सहकार्यमा क्लाइमेट स्मार्ट एग्रिकल्चरअन्तर्गत विभिन्न पाँच समूह बनाई १५२ कृषकमध्ये १२५ कृषकलाई जैविक खेतीका लागि तालिमसहित बिउ र विभिन्न सामग्री उपलब्ध गराउँदै आएपछि कृषकहरूले जैविक खेतीको महत्त्व बुझ्न थालेका हुन्।
कृषकहरूलाई नर्सरी म्यानेजमेन्ट, गुड एग्रिकल्चर प्राक्टिस, जलवायु परिवर्तन र यसका प्रभाव, बाली संरक्षणजस्ता तालिमहरू दिइँदै आएको छ। कृषकहरूलाई स्प्रे टंकी, जैविक मल, जैविक प्लान्ट ग्रोवरजस्ता सहयोग गरी ‘इस्ट वेस्ट एग्रोभेट कन्सर्न’ जनकपुरले जैविक खेतीतर्फ कृषकहरूलाई प्रोत्साहन गर्न प्रयास गरेको छ।
मुखियापट्टि मुसरनिया गाउँपालिका– ३ निवासी कृषक मिथिलेश साहले ‘इस्ट वेस्ट एग्रोभेट कन्सर्न’ जनकपुरसँग जोडिएपछि जैविक खेतीबारे बुझेको बताउँदै पछिल्लो समय रासायनिक मल प्रयोग गरी खेती गर्दै आएकोमा बिस्तारै जैविक खेती गर्न थालेको बताए।
उनले आफूसँग भएको सबै खेतमा हाल जैविक प्रविधि प्रयोग गर्न नसकिए पनि बिस्तारै नमुनाको रूपमा केही खेतमा जैविक खेती गर्न थालेको र बिस्तारै यसलाई बढाउँदै रासायनिक खेती पूर्ण रूपमा त्याग गर्ने बताए। उनले जैविक खेतीबाट उत्पादन हुने तरकारीहरू स्वस्थकर हुने भएकाले उपभोक्तासम्म जैविक खेतीबाट उत्पादित तरकारी पुर्याउने लक्ष्य लिएको बताए । उनले जैविक खेतीमार्फत अहिले काउली, भान्टा, मुली, गोलभेँडालगायतका तरकारी उत्पादन गरिरहेको बताए ।
त्यस्तै, स्थानीय कृषक सुमित्रादेवी महतोले पछिल्लो केही वर्षमा रासायनिक मलको प्रयोगले माटोको उत्पादन क्षमतामा ह्रास आएको बताउँदै जैविक खेती अंगाल्नुको विकल्प नरहेको बताइन्। उनले खेतहरूको उपचार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै बिस्तारै जैविक खेतीलाई बढाउन थालेको बताइन्।