रेमिट्यान्स १८ प्रतिशतले बढ्यो

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ३६ हजार नौ सय २८ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा नयाँ स्वीकृति लिनेको संख्या ३९ हजार एक सय ५२ र पुनः स्वीकृति लिनेको संख्या १६ हजार चार सय २३ थियो। 

समीक्षा अवधिमा चालू खाता ३० अर्ब ८९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १३ अर्ब ३७ करोडले बचतमा थियो । प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख कायम भएको थियो । 

त्यस्तै, साउनमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा छ ।

०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोडबराबर थियो । साउनमा २.५ प्रतिशतले वृद्धि भएर २० खर्ब ९२ अर्ब २२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा ०८१ साउन मसान्तमा २.० प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड पुगेको छ । 

आर्थिक वर्ष ०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

वस्तु आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको छ । सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।

सुझावित समाचार