कोदो नेपालको परम्परागत रैथाने बाली हो । सल्यानलगायत कर्णालीका अन्य जिल्लामा पहिले यसको खेती व्यापक रूपमा हुने गर्थ्याे । तर, पछिल्लो समय कोदोखेतीमा गिरावट आएको छ। नगदेबालीतर्फको आकर्षण, आधुनिक खेती प्रणाली र जलवायु परिवर्तनका कारण यो बाली खेती घट्दै गएको छ।
गाउँमा पहिला कोदो धेरै लगाउने गरिएको भए पनि विभिन्न कारणले मानिस कोदोखेतीबाट पछि हट्दै गएको जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका कृषक तुल्सीराम थापाले बताए। किसानहरू अहिले अन्य नगदेबाली आलु, अदुवा र तरकारी खेतीतर्फ आकर्षित भएको उनले बताए । जसले गर्दा कोदोजस्ता परम्परागत बाली लोप हुँदै गएका छन् ।
जिल्लाको केही क्षेत्रमा कोदोखेती अझै पनि केही मात्रामा भइरहेको भए पनि यी क्षेत्रमा पनि उत्पादनमा कमी आएको देखिन्छ । उनले भने, ‘विशेष गरेर चामलको भात खाने चलन बढ्यो, फाइदा पनि अन्य नगदेबालीले दिने भएपछि र कोदोको महत्त्वबारे पर्याप्त जानकारी नभएर गाउँका धेरै किसानले कोदोखेती छाडेका छौँ ।’
कोदोजस्ता परम्परागत बालीहरू संरक्षण गर्दा स्थानीय जैविक विविधता सुरक्षित राख्न सकिने विज्ञहरूको भनाइ छ । रैथाने बालीको खेतीले माटोको गुणस्तरमा सुधार ल्याउने र वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुर्याउने पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रम सल्यानका आयोजना प्रमुख डाक्टर दिगम्बरसिंह दाहालले बताए। उनका अनुसार कोदोखेतीमा लगानी गर्न सजिलो भए पनि बजारमा उचित मूल्य नपाउनु र अन्य बालीहरूको आकर्षणले यसलाई पछि धकेलेको छ ।
कोदोमा फाइबर, प्रोटिन र खनिजहरू जस्तै क्याल्सियम, आइरन र म्याग्नेसियमको मात्रा उच्च हुन्छ। यसले पाचन प्रणालीलाई सन्तुलित राख्न र हृदय रोगको जोखिम कम गर्न मद्दत पुर्याउँछ। साथै, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा पनि कोदो उपयोगी मानिन्छ । कोदोको महत्त्व निकै भएकाले यसको संरक्षण र खेतीलाई निरन्तरता दिन सरकारी निकाय र किसानले प्रभावकारी संयोजनमा काम गर्नुपर्ने देखिन्छ।