मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा

शनिबार, ५ असोज, २०८१
डिजिटल संस्करण

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ। राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेसनल हर्ट एन्ड लङ्स सोसाइटी नेपाल)ले नेपालसहित भारत र मालदिभ्सका विज्ञको सहभागितामा सम्मेलन आयोजना गरेको हो।

शुक्रबारदेखि सुरु भएको सम्मेलन आज समापन हुँदै छ। सोसाइटीका अध्यक्ष डा. शंकर लौडारीका अनुसार सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरू, जनरल फिजिसियनहरू, प्यारामेडिक्स गरी दुई सयजनाभन्दा बढी सहभागी छन्। 

पहिलो दिन दुईजना भारतीय विज्ञसहित १२ जनाले मुटुको भिडियो एक्स–रेसम्बन्धी भएका अत्याधुनिक प्रविधि र विकासक्रमबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। आज दुईजना भारतीय र एकजना मालदिभ्सका विज्ञचिकित्सकसहित २० जनाले फरक कार्यपत्र प्रस्तुत गर्दै छन्। 

सोसाइटीका अध्यक्ष डा. लौडारी, पूर्वअध्यक्ष प्रा. डा. श्यामराज रेग्मी र प्रा. डा. मणि गौतमले पहिलो दिन संयुक्त रूपमा सम्मेलनको उद्घाटन गरेका थिए। सोही अवसरमा सोसाइटीले प्रकाशन चौथो जर्नल विमोचन गरिएको थियो। ‘प्रथम इकोकोन नेपाल’ नाम दिइएको सम्मेलन मुटुको भिडियो एक्स–रेलाई नै लक्षित गरेर नेपालमा पहिलो पटक भएको डा. लौडारीले बताए। 

सम्मेलनमा मुटुको भिडियो एक्स–रेबाट कस्ता रोग पत्ता लाग्न सक्छन् ? मुटुको उपचारमा भिडियो एक्स–रेको के–कस्तो योगदान हुन्छ ? भन्ने विषयमा केन्द्रित छलफल भइरहेको जनाइएको छ। नेपालको चितवनसहित काठमाडौं, पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज, वीरगन्जबाट र भारतको दिल्ली, चेन्नाई, मालदिभ्सबाट मुटुरोग विशेषज्ञको सहभागिता रहेको छ। 

सम्मेलनले मुटुरोग उपचारको गुणस्तरमा थप वृद्धि गर्ने उनको भनाइ छ। मुटुको भिडियो एक्स–रेसम्बन्धी विभिन्न देशमा भएका अत्याधुनिक प्रविधि र ज्ञानको आदानप्रदान हुनेछ। मुटुको भिडियो एक्स–रेबाट मुटुमा जन्मजात प्वालहरु, मुटुको खुम्चिनसक्ने क्षमता, मुटुको भल्बसम्बन्धी अवस्था, मुटुमा पानी जम्ने रोग, मुटुबाट निस्किने प्रमुख धमनीसम्बन्धी रोग पहिचान गर्न सहज हुने गर्दछ। विश्वमा मृत्युको पहिलो कारण मुटु तथा मुटुका रक्तनलीसम्बन्धी रोगहरु रहेको डा लौडारीको भनाइ छ । 

सुझावित समाचार