लोमान्थाङमा स्याउखेती हुन थाल्यो

शुक्रबार, ४ असोज, २०८१
डिजिटल संस्करण

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ कागबेनीस्थित जनशान्ति माध्यमिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौडेल बिदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट कोसेली स्याउ किनेर लैजाने गर्थे।

उनका अनुसार कागबेनीमा छिटपुट रूपमा मात्रै स्याउ उत्पादन हुन्थ्यो। ‘तत्कालीन समयमा बोकेर लैजानुपर्ने भएकाले सबैभन्दा तल पर्ने लेते–घाँसामा बोटबाट आफैँले टिपेर घर जाँदा स्याउ लैजाने गरिन्थ्यो,’ उनले तीन दशकअघिको स्मरण गरे, ‘अहिले घाँसा, लेतेमा स्याउको बगैँचा नै छैन। उपल्लो क्षेत्रमा पर्ने लोमान्थाङमा स्याउ फल्न थालेको छ।’

दशकअघिसम्म जोमसोम र मार्फाबाट स्याउ किनेर लैजाने लोघेकर दामोदरकुण्ड गाउँपालिका– ४ घाराकी छेमा गुरुङले तीन हजार नौ सय मिटर उचाइमा अवस्थित घारा गाउँको बगैँचामा स्याउ फलाउन थालेका छन्। ‘पहिले धेरै स्याहारसुसार र मिहिनेत गरे पनि स्याउ फल्ने गरेको थिएन,’ उनले भने, ‘तापक्रम बढ्न र मौसममा आएको परिवर्तनका कारण अहिले घारामा पनि सजिलै स्याउ फल्न थालेको छ।’

मुस्ताङको मौसम र तापक्रममा आएको परिवर्तनको असर प्रमुख कृषिबाली स्याउखेतीमा पनि देखिएको कृषक र प्राविधिकहरूले बताएका छन्। तल्लो क्षेत्रमा नासिँदै गएको स्याउखेती माथिल्लो भेगमा फैलिँदै र फस्टाउन थालेको छ।

थासाङ गाउँपालिका– २ कोवाङका कृषक जीवन थकालीले तापक्रम वृद्धि र नयाँ रोग देखिन थालेपछि स्याउखेतीमा चुनौती सिर्जना भएको बताए। ‘पहिलेको तुलनामा धेरै पानी पर्ने, सिजनमा हिउँ नपर्ने, बेसिजनमा हिउँ पर्ने र कम फल लाग्ने समस्या देखिएको छ,’ उनले भने, ‘बगैँचा व्यवस्थापन, सिँचाइ र किराबाट बचाएर स्याउखेतीलाई निरन्तरता दिएका छौँ।’

कोवाङ क्षेत्रको बगैँचाको स्याउमा दादेरोग चुनौतीका रूपमा देखिएको थकालीले बताए। स्याउखेती हुन छाडेपछि लेते, कुञ्जो, कोवाङ, घाँसाका कृषकले विकल्पमा ओखरखेती गर्न थालेका छन्। जोमसोमदेखि तल्लो भेगमा अत्यधिक स्याउखेती हुने भएकाले ०२३ मा सरकारले मार्फामा शीतोष्ण बागवानी विकास केन्द्र स्थापना गरेको थियो।

स्याउलगायत हिमाली फलफूल, तरकारी र खाद्यबालीको अध्ययन, जैविकीय गुणको संरक्षण र बिउको विकास गर्दै आएको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले मुस्ताङमा स्याउखेती उकालो चढ्दै गएको बताए। ‘सैद्धान्तिक हिसाबले समुद्री सतहदेखि दुई हजारदेखि तीन हजार मिटरको उचाइको भूगोलमा स्याउखेती हुनुपर्ने हो,’ उनले भने, ‘दुई हजार मिटर उचाइको भूगोलमा स्याउखेती नासिएको छ। चार हजार मिटरको उचाइमा स्याउ उत्पादन हुन थालेको छ।’

स्याउको परागसेचनका लागि चिसो हावापानी र मौसम आवश्यक पर्छ। उच्च गुणस्तरको जातका स्याउ परागसेचन हुन एक हजारदेखि एक हजार ६ सय घण्टा सात डिग्रीभन्दा कम तापक्रम आवश्यक पर्छ। मध्यम गुणस्तरको स्याउलाई ६ सयदेखि एक हजार घण्टा र कम गुणस्तरको स्याउको परागसेचनका लागि चार सयदेखि ६ सय घण्टासम्म सात डिग्रीभन्दा कम तापक्रम आवश्यक पर्छ। स्याउको परागसेचन हुने समयमा तल्लो मुस्ताङको तापक्रम न्यूनतम १६ देखि अधिकतम २१ डिग्री हुँदा गत वर्ष उत्पादन ४० प्रतिशतले घटेको थियो।

४० प्रजातिका स्याउको संरक्षण गरिरहेको केन्द्रले तापक्रम प्रतिकूल हुन थालेपछि उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका– २ घमीमा बागवानी फार्मको शाखा स्थापनाको तयारी गरेको केन्द्रका प्रमुख आत्रेयले बताए। ‘जलवायु परिवर्तनको सामना गर्दै स्याउको जिन संरक्षणका लागि माथिल्लो क्षेत्रमा शाखा कार्यालय खोल्नुपर्ने अवस्था आएको हो,’ आत्रेयले भने, ‘स्थानीयले पनि स्याउखेती गरिरहेको घमीको भूगोल र हावापानी उपयुक्त देखिएकाले जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएका हौँ।’

तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण खेती हुने भूगोल फेरिनुका साथै स्याउ छिटो पाक्न थालेको छ। पहिले असोज लागेपछि गुलियो पस्ने गरेकोमा यसपालि गर्मी धेरै भएकाले भदौको दोस्रो हप्तामै खानयोग्य भएको घरपझोङ गाउँपालिका– २ मार्फाका ७९ वर्षीय लालप्रसाद हिराचनले बताए। ‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो,’ उनले भने, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ। स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ।’

मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेका बताए। ‘उच्च घनत्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्,’ उनले भने, ‘स्थानीय जातको स्याउमा पनि गुलियोपना नाप्दा विगतको तुलनामा केही समय अघि पाकेको पाइयो।’ 

उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ। गुलियाेपनाको मात्रा १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुन्छ। दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ। उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखि नै टिप्न थालिएको थियो।

स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको छ। अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोगको समस्या कम देखिएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए। गत वर्षका तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए।

मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउखेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ। ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ। गत वर्ष चार हजार ९७५ मेट्रिक टन स्याउ उत्पादन भएको र रु. ४९ करोड २५ लाखबराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।

म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौंलगायतका सहरका व्यापारी बगैँचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गरेका छन्। मुस्ताङ घुम्न आउने पर्यटकहरूले पनि कोसेलीको रूपमा स्याउ किनेर लैजाने गर्छन्। बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छ।

सुझावित समाचार