गृहसचिव गोकर्णमणि दुवाडीले राजस्व चुहावट तथा सीमा अपराध नियन्त्रण कार्यमा सशस्त्र प्रहरी बलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन्।
बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूको निरीक्षण भ्रमण गरी उनले सशस्त्र प्रहरीले स्थापना भएको छोटो अवधिमै उल्लेख्य कार्य गर्न सफल भएको र देशमा शान्ति सुरक्षा, सुव्यवस्था तथा अमनचयन कायम गर्न सदैव क्रियाशील रूपमा कार्यसम्पादन गर्दै आइरहेको उल्लेख गरे।
निरीक्षण भ्रमणमा उनले सीमा सुरक्षा, विपत् उद्धार तथा व्यवस्थापनलगायत सशस्त्र प्रहरी बल, नेपालद्वारा देशको समग्र शान्तिसुरक्षा व्यवस्थापनमा भए गरेका काम-कारबाही र संगठनका समस्या र चुनौतीहरूका बारेमा जानकारी लिएका छन्।
सशस्त्र प्रहरी बल नेपालमा स्रोतसाधन तथा जनशक्ति व्यवस्थापन, कर्मचारीहरूको सेवा, सुविधा र वृत्तिविकासमा मन्त्रालयको सदैव साथ रहने बताउँदै राज्यले सुम्पिएको जिम्मेवारीलाई इमानदारी र जवाफदेहितासहित थप प्रभावकारी रूपमा कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव दुवाडीबाट भएको निर्देशनलगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरूलाई दृढताका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू परिचालित कार्यक्षेत्रमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीलाई निर्देशन दिए।
सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीहरूलाई इमानदारी र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आमनागरिकको सेवा, सुरक्षा, विपत् व्यवस्थापन तथा उद्धारलगायतका विविध जिम्मेवारीहरूमा परिणाममुखी कार्यसम्पादन गर्दै आइरहेको आइजिपी अर्यालको भनाइ छ।
राज्यले दिएको प्रमुख जिम्मेवारीमध्ये सीमा सुरक्षामा सीमा स्तम्भको रेखदेख तथा मर्मत सम्भार, विभिन्न प्रकारका प्रभावकारी कार्यक्रमहरूका साथै लागुऔषध तथा राजस्व चुहावट नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेको भन्दै उनले बिओपीको लागि सशस्त्र प्रहरी बल, नेपाललाई जग्गा तथा भौतिक संरचनाको आवश्यकता रहेको बताए।
संगठन तथा सशस्त्र प्रहरी कर्मचारीहरूको हकहितको लागि आवश्यक छलफल तथा राय सुझाव संकलन गरी कार्य गर्दै आइरहेको उल्लेख गर्दै अर्यालले सशस्त्र प्रहरीको सम्पूर्ण फौजलाई चेन अफ कमान्डमा रही सदैव इमानदारीसाथ कार्यसम्पादन गर्न निर्देशन दिए।