जिल्लाको एक मात्र हवाई यातायातको माध्यम रारा विमानस्थलले सेवा–सुविधासँगै विपत्ति पनि निम्त्याएको छ । रारा विमानस्थल ताल्च कालोपत्रे भएसँगै विमानस्थलमुनिका बस्तीहरूमा यतिवेला मानवीय तथा प्राकृतिक विपत्ति निम्तिएको छ। रारा विमानस्थल कालोपत्रे भएसँगै पानीको नाली बुकाखोला, लेत्याखोला बुधाखोलामा मिसाइएकाले रारा विमानस्थल मुनिपर्ने छायाँनाथ रारा नगरपालिका– ४ का दर्जनौँ बस्ती पहिरोको उच्च जोखिममा परेका हुन् ।
०७२ मा पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको रारा विमानस्थल कालोपत्रे गरिएको र त्यहाँबाट बग्ने पानीका नाली बुकाखोला, लेत्याखोला बुधाखोलामा मिसाइएकाले विमानस्थलबाट बग्ने पानीले मुनिका बस्ती पहिरोको उच्च जोखिममा परेको हो । खोलामा आउने बाढी–पहिरोले सयौँ रोपनी जमिन कटान गरेको र धेरैका घर बगाएको छ । खोलामा पानी मात्रै होइन, अहिलेको अवस्थामा बाढी नै आउने पानीको बहाव छ । बाढीसँगै आउने पहिरोको त्रासका कारण बाढीको डरले खोला आसपासका स्थानीय रातभर जाग्राम बस्न बाध्य छन् ।
विमानस्थलबाट बग्ने पानीले खोला आसपासमा हरेक वर्ष खेतीयोग्य जमिन कटान गर्दै जाने हो भने विमानस्थलको भविष्य पनि संकटमा पर्ने देखिन्छ । अहिले पनि विमानस्थलको उत्तरतिर जमिन भासिएको छ । यसको असरले शिरमा रहेको राराताल पनि जोखिम पर्ने स्थानीयको भनाइ छ ।
रारा विमानस्थलबाट निस्किएको मुख्य पानी बग्ने बुकाखोला किनाराका बस्तीहरू पाटपटेनी, मुस्याचौर, माथिल्लो कालापाल्त, तल्लो कालापाल्त, कोष, दोबाट, कालाजुर लेत्याखोलाकिनारका बस्तीहरू, ढुमालेख, डाँडाजिउला, टहधारा र बुधाखोलाकिनारका बस्तीहरू गिमखोला जुक्याना गाउँ खत्याडीकोट, गमगाढाको पावरहाउसलगायतका क्षेत्रहरू पहिरोको उच्च जोखिममा रहेका छन् ।
यो सडक हुँदै छायाँनाथ रारा नगरपालिका– ४, ६, ७, ८ का विद्यार्थी, स्थानीय सदरमुकाम गमगढी आउनसमेत समस्या हुने र जोखिम मोलेर सदरमुकाम आउजाउ गर्नुपर्ने स्थानीयको भनाइ छ ।