मानसिक अस्पताल, लगनखेलमा कार्यरत क्लिनिकल साइकोलोजिस्ट सृजना अधिकारीलाई तीन प्रश्न

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

दैनिक तीन बालबालिकाले आत्महत्या गर्ने तथ्यांकले के संकेत गर्छ ? 
यो निकै चुनौतीपूर्ण तथ्यांक हो । अझ यो त ज्यानै जानेगरी आत्महत्या गर्नेहरूको मात्र तथ्यांक हो । यहाँ आत्महत्या प्रयास गर्नेहरूको संख्या योभन्दा निकै बढी छ । समग्र आत्महत्याको तथ्यांक हेर्दा १५ देखि २५ वर्ष उमेर समूहका बालबालिका, किशोरकिशोरी र युवायुवती एकदमै बढी देखिन्छन् । त्यसैले, यो हामी सबै सचेत हुनुपर्ने विषय हो । बालबालिकाले आत्महत्याको कुरा गर्छन्, त्यस्ता सामग्रीमा रुचि देखाउँछन्, अनलाइनमा पनि त्यस्तै सामग्रीको खोजी गरिरहेका छन् भने त्यसलाई हल्का रूपमा लिने गल्ती कसैले पनि गर्नु हुँदैन । यसमा घरपरिवार, विद्यालय, समाज, समुदाय सबै गम्भीर हुनुपर्छ । 

यसमा हामी को, कहाँ र कसरी चुकिरहेका छौँ ?
यसमा हाम्रो सिस्टम, राज्य, घरपरिवार, समुदाय, समाज सबै कहीँ न कहीँ जिम्मेवार छन् । घरपरिवारमा बालबालिकालाई लाउन, खान दिएपछि पुगिहाल्यो नि भन्ने मानसिकता देखिन्छ । अभिभावकमा आफूले भनेअनुसार बालबालिका चल्नुपर्छ भन्ने मानसिकता हुन्छ । तर, बालबालिकालाई भौतिक सुख, सुविधाभन्दा पनि भावनात्मक सम्बन्धको बढ्ता खाँचो हुन्छ । त्यसमा हामी चुकिरहेका छौँ । उनीहरूसित कुराकानी गर्ने, उनीहरूका कुरा सुन्ने र उनीहरूका समस्यामा चासो दिन नसक्दा ‘अर्ली आइडेन्टिफिकेसन’ हुन सक्दैन । जनचेतनाको अभावले गर्दा बालबालिकाले पनि आफूमा भएको समस्या छुट्याउन सक्दैनन् । 

यस्तो गम्भीर समस्याको रोकथामका लागि के गर्नुपर्ला ?
सबैभन्दा पहिले बालबालिकादेखि घरपरिवार र समुदाय स्तरमा समेत जनचेतना फैलाउनुपर्छ । बालबालिकालाई यसबारे स्कुल तहदेखि नै ज्ञान दिनुपर्छ । उनीहरूले घरपरिवार, विद्यालय र समुदायमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नुपर्छ । उनीहरूलाई कुनै पनि किसिमको दबाबबाट मुक्त राख्नुपर्छ । 

सुझावित समाचार