अझै याद छ ऊवेला
बाले तातेताते गर्दै डोर्याएर
जसोतसो गरेर भए पनि खाजा खर्च पुर्याएर
हाम्रा सपनाको भारी बोक्दै, कतै ठेस लाग्दा च्याप्प हात समाएर रोक्दै
हामीलाई सपना देखाउन स्कुल पुर्याएको ।
अझै याद छ,
आमालाई ढाँटेर, सबै हाम्रै लागि साँचेर
बाले आफ्नो साइँली औँलामा लगाएको त्यो मोटो औँठी
हामीलाई मोटो बनाउन सहकारीमा धितो राखेको ।
काँधका छाला जाँदासम्म
हातमा ठेला आउँदासम्म
ऋण लिन सहकारी धाउँदासम्म
बाले कहिल्यै हामीलाई सुनाएनन् आफ्नो पिर
कहिल्यै देखाएनन् हाम्राअगाडि फुस्रो अनुहार ।
हामीलाई खुसी बनाउन हाम्राअगाडि सधैँ हाँसेको
आफ्नो मन भुलाउन हाम्राअगाडि नाचेको
सबै याद छ ती यादगार पलहरू
तर
अहिले डाँडा काटिसकेको उमेरसँग
बाटो काट्दै गर्दा बाको आफ्ना कति सपनाहरू लठ्ठीमुनि हराए बा आफैँलाई याद छैन ।