भदौ शुक्ल पञ्चमीदेखि आरम्भ भएको सुदूरपश्चिमेलीहरूको मौलिक पर्व गौरा अष्टमी भदौ १० गते सकियो। तर, गौरा सकिएकै दोस्रो दिनदेखि लेकम क्षेत्रका मठमन्दिर तथा शक्ति पीठहरूमा खेडी, धोडी, लमधोडीको कारण देउडाको रौनकता छाएको छ।
यस क्षेत्रका अधिकांश गाउँबस्तीमा खेल देउडा रौनकले साथिभाई इष्टमित्र भेटघाटको रूपमा रहेको छ। गौराको मुख्य दिन अठ्यावालीपछि गाउँमा ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत र देउडाको रौनक छाएको शैल्यशिखर नगरपालिका–७ का दुर्गादत्त जोशीले बताए।
‘अहिले गाउँघरमा निकै रमाइलो वातावरण छ। परदेशीहरू पनि घरमा पुगेका छन्। चेलीबेटी माइतीघर आएर भेटघाट गर्छन्। देउडाका कारण गाउँबस्तीहरू गुन्जायमान छन्,’ उनले भने।
विभिन्न राजा-रजौटा र देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी र चैतहरू गौराको समयमा गाउने र खेल्ने गरिएको भराँणे घनश्याम जोशीले बताए। यो आफन्त इष्टमित्रसँग देउडाका माध्यमबाट सुखदुःख साट्ने परम्पराजस्तै हो।
ठाडो खेल, ढुस्को, धमारी र चैतहरूमा देवीदेवताहरूको उत्पत्ति, रामायण, महाभारतका कथाहरू भन्ने गरिएको छ। ‘गौराका समयमा खेलिने खेलहरू हाम्रा संस्कृति हुन्। यस्ता खेलहरूमा इतिहास समेटिएको हुन्छ।’ तर, पछिल्लो समय गाउँमा मदिरालगायतका कारण संस्कृतिमाथि विकृति बढेको बताउँछिन्, स्थानीय हेमन्ती जोशी। मान्छेको भिड बढ्नु त राम्रो हो, तर विकृति पनि सँगै बढेको छ।
गौराको समयमा गाउँका सबैजना एकैठाउँमा जम्मा भएर देउडा खेल्ने गरिएको छ। १०/१२ वर्षयता यस क्षेत्रमा मान्छे बढी आउन थालेका छन्। बुढापाकाले गर्दा पुराना भाकाहरू अहिले पनि सुन्न पाइन्छ। मादल, मिजरा, दमाहाको तालमा ठाडी भाका देउडा, खेणीलगायतका पुराना भाकाहरू यस क्षेत्रमा अहिले पनि गुञ्जयमान हुने गर्छ।
देउडा खेल्दा गोलो घेरामा एकआपसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ। पाइतालाको चालकै आधारमा डेढ पाइलाअगाडि र डेढ पाइलापछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको स्थानीय जानकार बताउँछन्।
देउडा विभिन्न समयमा खेल्ने गरिएको भए पनि ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका विधाहरू भने गौराको समयमा मात्रै खेल्ने गरिएको छ। देवीदेवताहरूको देउखलामा बाजागाजासहित पुगेर पूजाअर्चना गर्नाले रोगव्यथा नलाग्ने, जंगली जनावरले अन्न सखाप नपार्नेजस्ता किम्बदन्ती रहेको हेमन्ती जोशी बताउँछिन्।