लहान प्रादेशिक अस्पतालमा मुख्यमन्त्रीको छड्के

शनिबार, १५ भदौ, २०८१
डिजिटल संस्करण

अस्पतालको सेवा प्रवाह खस्किँदै गएको जनगुनासो बढ्न थालेपछि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार राति सिराहाको लहानस्थित रामकुमार सारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा छड्के चेक गरेका छन्।

लहान ३ स्थित अस्पतालमा सीमित सुरक्षाकर्मीसहित आएका मुख्यमन्त्री सिंहले राति पौने ९ बजेदेखि करिब एक घण्टा अस्पतालको विभिन्न वार्ड, प्रशासन शाखा, शल्यक्रिया कक्षको अनुगमन गरे। उनले बिमा इकाइ, इमर्जेन्सी वार्ड, नर्सिङ प्रसूति कक्ष, प्रयोगशाला, अन्तरंग विभाग, फार्मेसी, अस्पतालको सरसफाइको अनुगमन गरी ड्युटी इन्चार्जसँग सोधपुछ गरेका थिए। 

त्यसक्रममा उनले ड्युटी रोस्टरअनुसार स्वास्थ्यकर्मी आए नआएको, नआएको भए किन नआएकोबारे सोधपुछ गर्नुका साथै  प्रयोगाशालाको सेवा, रजिस्ट्रार र कम्प्युटरमा प्रविष्टि भए नभएको हेरेका थिए। 

अनुगमनको क्रममा वार्डमा पुगेका मुख्यमन्त्री सिंहलाई बिरामीका कुरुवाहरूले अस्पतालका मेडिकल सुपरिटेन्डेटलगायतका चिकित्सक, स्वास्थ्यकर्मीहरूलाई बोलाउँदा मात्र आउने, प्रायः औषधि अस्पतालको फार्मेसीभन्दा बाहिरबाट किन्नुपर्ने, अस्पतालमा भिडियो एक्सरे मेसिन भए पनि बाहिरबाट गराउनुपर्ने, इमर्जेन्सी वार्डमा लामखुट्टेले टोकेर सुत्नसमेत नपाइनेजस्ता गुनासो गरेका थिए । 

तीन चार दिनभित्र सुधार हुने आश्वासन
अनुगमन सकेर फर्किने क्रममा मुख्यमन्त्री सिंहले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै जनताको स्वास्थ्यप्रतिको दायित्व सरकारको रहेकाले जनगुनासो बढेपछि आफैँले अस्पतालको सेवा प्रवाहको बारेमा बुझ्न आएको बताए। 

‘अस्पतालका सेवा प्रवाहसम्बन्धी समस्याहरू, मेडिकल सुपरिटेन्डेन्ट, चिकित्सक, स्वास्थ्यकर्मीहरूले आफ्नो ड्युटीअनुसार काम गरे नगरेको, सरकारको नियम पालना गरे /नगरेको हेरियो,’ उनले भने, ‘अस्पतालका मेसुलाई सबै पक्षको राम्रो जानकारी रहनुपर्छ, अस्पताल व्यवस्थापनले नसक्ने छ भने माथिल्लो निकायलाई भन्नुपर्छ।’ अनुगमनबाट फर्किएपछि अस्पतालको सेवा प्रवाहसम्बन्धी कमजोरी, अस्पतालका समस्याहरूको समाधान तीन/चार दिनभित्र देखिने गरी सुधार हुने उनले आश्वासन दिए।   

सुझावित समाचार