काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहको दोस्रो चरणमा दुई हजार ३१४ जना विद्यार्थी दीक्षित भएका छन्।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी ओलीको अध्यक्षता तथा वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा विद्यार्थी दीक्षित भएका हुन्।
शुक्रबार दीक्षित हुने विद्यार्थीमा स्कुल अफ आर्टसबाट ७० जना, स्कुल अफ एजुकेसनबाट ७१ जना, स्कुल अफ इन्जिनियरिङबाट ३६४ जना, स्कुल अफ म्यानेजमेन्टबाट ९७ जना, स्कुल अफ मेडिकल साइन्सेजबाट एक हजार ५६३ जना र स्कुल अफ साइन्सबाट १४९ जना छन्।
आफ्ना शैक्षिक कार्यक्रममा लैंगिक समानताको उत्कृष्ट नमुना स्थापित गरेको केयूले जनाएको छ। शुक्रबार दीक्षित हुनेमा एक हजार १८६ जना अर्थात् ५१.२५ प्रतिशत छात्र रहेका छन् भने र एक हजार १२८ जना अर्थात् ४८.७५ प्रतिशत छात्रा छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीको प्रमुख गन्तव्य बनेको केयूले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न अग्रणी भूमिका खेलेको छ। २९औँ दीक्षान्त समारोहको दोस्रो चरणमा दीक्षित हुनेमध्ये २४२ जना अर्थात् १०.५ प्रतिशत १९ देशका अन्तर्राष्ट्रिय विद्यार्थी छन्। केयूबाट हालसम्म ४५ हजार ४३७ जना दीक्षित भइसकेका छन् । जसमा ५७ देशबाट पाँच हजार ४६७ जना विदेशी विद्यार्थी छन्।
केयूका सातवटा संकाय छन्। स्कुल अफ आर्टस्, स्कुल अफ एजुकेसन, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ ल, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ मेडिकल साइन्सेज र स्कुल अफ साइन्समा स्नातकदेखि पिएचडसम्म २३० भन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालित छन्।
उत्कृष्ट ६ जनालाई पदक
काठमाडौं विश्वविद्यालयले उत्कृष्ट विद्यार्थीलाई पदक तथा सम्मान गर्ने गरेको छ। विगतमा जस्तै यस वर्ष पनि ६ जना विद्यार्थीलाई पदक तथा सम्मान गरेको छ।
स्कुल अफ आर्टसका मिजला चित्रकारलाई चान्सलर स्वर्ण पदक प्रदान गरिएको छ। त्यस्तै, स्कुल अफ साइन्सेसका मुकेश तिवारीले भाइस चान्सलर स्वर्ण पदक प्राप्त गरेका छन्। यसैगरी, मनिपाल कलेज अफ मेडिकल साइन्सेजका स्वीकार दाहालले भाइस चान्सलर स्वर्ण पदक, विराट मेडिकल कलेजकी रस्मिता पौडेलले न्हुच्छेरत्न तुलाधर स्वर्ण पदक, स्कुल अफ मेडिकल साइन्सेजका अर्जुन दासले रमेशप्रसाद सिंह स्वर्ण पदक र स्कुल अफ एजुकेसनकी रनिशा पौडेललाई महेशनाथ पराजुली स्वर्ण पदक प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ।




