संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन्।
बुधबार पर्यटनसम्बद्ध निकायहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ, प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
‘मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु। मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु,’ उनले भने।
मन्त्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्नसमेत विभागीय प्रमुखहरूलाई निर्देशन दिए। उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वाभाविक दबाब, प्रलोभन दिएको अवस्थामा आफूलाई सीधै सम्पर्क गर्नसमेत मातहतका निकायलाई आग्रह गरे।
मन्त्री, सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै उनले इमानदारिताका साथ काम गर्न निर्देशन दिए।
मन्त्री पाण्डेले प्रत्येक बुधबार मन्त्रालयमातहतका सम्बद्व विभाग वा निकायहरूसँग छलफल गर्दै आएका छन्।