केन्द्रीय समिति बैठकमा कस्ता विषयमा छलफल गर्दै हुनुहुन्छ ?
हामीले पार्टीको राष्ट्रिय भेला १ र २ असोजका लागि तय गरिसकेका छौँ । त्यसैले, सो भेलाका लागि प्रस्ताव तयार गर्ने बैठकमा छलफल हुनेछ । पार्टीले स्थानीय छाया सरकार बनाउने विषयमा निर्णय गरिसकेको छ । त्यसका कार्यविधि र कामका विषयमा पनि छलफल गर्नेछौँ । अनुशासनात्मक कारबाहीको विषयमा पनि छलफल हुन्छ । साथै, स्थानीय तहको आगामी उपनिर्वाचनबारे पनि छलफल गर्ने तयारी छ ।
‘आत्मनिर्भर नेपाल अभियान’बारे केही बताइदिनुहोस् न ।
हामीकहाँ स्वदेशी र स्थानीय उत्पादनको प्रवद्र्धन हुन सकेन । त्यस्ता उत्पादनको प्रवद्र्धन गर्नेतर्फ राज्यको जानुपर्नेजति ध्यान जान पनि सकेन । त्यसले गर्दा हाम्रा स्वदेशी र स्थानीय उत्पादनले फस्टाउने मौकै पाएनन् । ‘मेड इन नेपाल’को ‘क्याम्पेन’ चलिरहेको समयमा त्यसलाई पनि प्रवद्र्धन गर्नु छ । देशभित्र आत्मनिर्भर बन्न सक्ने सम्भावना भएका क्षेत्रमा उत्पादन र आर्थिक गतिविधिलाई एकसाथ जोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु हाम्रो अभियानको मूल लक्ष्य हो ।
यस अभियानको आवश्यकता किन महसुस गर्नुभयो ?
प्रतिदिन हाम्रा ऊर्जाशील युवा बिदेसिनेक्रम घट्नुको साटो बढिरहेको छ । कम्युनिस्टरूले बाहिरिने जनशक्तिलाई कडाइ गरेर स्वदेशमै रोक्नुपर्छ भन्दा रहेछन् । तर, लोकतान्त्रिक अभ्यासमा त्यस्तो गर्न मिल्दैन । हामीले स्वदेशमै बस्ने वातावरण बनाउन सक्यौँ भने बिदेसिने क्रममा स्वतः कमी आउनेछ । स्वदेशी उत्पादन बढाउन सकियो भने आयात घट्छ र निर्यात बढ्छ । निर्यात बढाउन सकियो भने विदेशी मुद्राको आर्जन गर्न र युवालाई यतै रोकेर देश विकासमा लगाउन सकिन्छ । त्यसैले, यो अभियानको आवश्यकता महसुस भएको हो ।