ज्यानु–वसन्तराज मिश्र फाउन्डेसनले तीन विधामा नौ लाख रुपैयाँको पुरस्कार प्रदान गर्ने

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण

ज्यानु–वसन्तराज मिश्र फाउन्डेसनले विभिन्न तीन विधामा सकारात्मक योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई नौ लाख रुपैयाँको पुरस्कार प्रदान गर्ने भएको छ। फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलन गरी जनही तीन–तीन लाख रुपैयाँ नगदसहित वातावरण संरक्षण, शिक्षा र पत्रकारिता पुरस्कार प्रदान गर्ने जनाएको हो।

हरेक वर्ष लोकराज मिश्र वातावरण संरक्षण पुरस्कार, दुर्गादेवी मिश्र शिक्षा पुरस्कार र ज्यानु–वसन्तराज मिश्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको फाउन्डेसनका संस्थापक अध्यक्ष वसन्तराज मिश्रले बताए। फाउन्डेसनले यो वर्षको पुरस्कार १३ भदौमा एक कार्यक्रमबीच उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा प्रदान गर्न लागेको उनले जानकारी गराए।

पूर्वप्रधानन्यायाधीश एवं फाउन्डेसनका विशेष सल्लाहकार कल्याण श्रेष्ठले फाउन्डेसनको लक्ष्य र महत्त्वाकांक्षा अत्यन्तै राम्रो रहेको बताए। संस्थाका ट्रस्टी एवं क्याप्टेन रामेश्वर थापाले वाइल्डलाइफ टुरिजमका पायोनियर वसन्त मिश्र समाजसेवामा पनि दत्तचित्त भएर लागेको बताए। यस्तै, संस्थाका ट्रस्टी एवं बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले पनि मिश्रले नेपालको पर्या–पर्यटन विकास र प्रवर्द्धनमा उल्लेखनीय काम गरिरहेको बताए।

नेपाली पर्यटन क्षेत्रमा चार दशकभन्दा बढी समय सक्रिय रहेका पर्यटन व्यवसायी मिश्रले टेम्पल टाइगर ग्रुप अफ कम्पनी सञ्चालन गर्छन्, जसले कर्पोरेट सामाजिक दायित्वअन्तर्गत विभिन्न सामाजिक सेवा गर्दै आइरहेको छ। देश र समाजको विकासमा थप उद्देश्यमूलक हस्तक्षेप उद्देश्यसहित ज्यानु–वसन्तराज मिश्र फाउन्डेसन स्थापना गरेको उनको भनाइ छ। २४ मंसिर ०७८ मा स्थापना भएको फाउन्डेसनको कार्यालय ललितपुरमा छ। 

फाउन्डेसनको संस्थापकहरूमा वसन्तराज मिश्र र ज्यानु मिश्र रहेका छन् भने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विशेष सल्लाहकार छन्। यस्तै, संस्थाका ट्रस्टिजमा मनदेवी भण्डारी, क्याप्टेन रामेश्वर थापा, आर्टिटेक्ट अरुण पन्त, पत्रकार प्रतीक प्रधान, डा. मधु आचार्य, पीयूष मिश्र, ब्रजेश मिश्र तथा रिता जे प्रधान छन्। संस्थाको सचिव राजेन्द्रकुमार महर्जन रहेका छन्।

सुझावित समाचार