प्रदीपको पाँच लुक्समा एक्टरको पोस्टर सार्वजनिक

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गतेदेखि रिलिज हुने फिल्म ‘एक्टर– टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन्।

पोस्टरमा प्रदीपका पाँच तस्बिर छन्। घाइते तस्बिर, नेपाली पोसाकमा रहेको तस्बिर, पाइलटको पोसाकमा रहेको तस्बिर, लामो कपालमा क्याजुअल पोसाकमा रहेको तस्बिर र हल्का जाडोमा स्वेटर लगाएका पाँच लुकमा प्रदीप फिचर्ड छन्।

यीमध्ये टाउकाे र अनुहारभरि चोट लागेको तस्बिरले पोस्टरमा प्राथमिकता पाएको छ। जसमा उनको टाउकोमा ब्यान्डेज बाँधेको छ। हातमा प्लास्टर छ। जुन हात उनले काँधमा झुन्डाएका छन्। उभिनलाई बैसाखीको सहारा लिएका छन्। यसले उनी ठुलै दुर्घटना वा कुनै आक्रमणमा परेको संकेत गर्छ। यीमध्ये कुन लुकको क्यारेक्टरले फिल्ममा प्राथमिकता पाएको छ, त्यो भने प्रस्ट छैन।

राजन भुसालको निर्देशन रहेको फिल्ममा प्रदीपसँगै दिव्या रायमाझी, आना शर्मा, राजबल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीपकुमार चौधरी (पिके), देवेन्द्र नेपाललगायत कलाकार रहेका छन्। दिव्याको डेब्यु रहेको फिल्ममा राज बल्लभले कमब्याक गरेका छन्।

अभिनेता खड्काले पहिलोपटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन्। थमनकुमारी भण्डारी फिल्मका निर्माता हुन्। पोस्टर डिजाइन रोयल भीमसेनले गरेका छन्।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन्। क्रेयटिभ प्रोड्युसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसर तोरन क्षेत्री हुन्।

फिल्मका लेखक आकाश बराल र राजन भुसाल हुन्। फिल्ममा रोयल भीमसेन र सुजन श्रेष्ठको पब्लिसिटी तथा पोस्टर डिजाइन, शिशिर खाती र किरण थापा कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ।

मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको फिल्ममा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की सहनिर्देशक रहेका छन्।

यसैगरी, फिल्ममा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नवीन श्रेष्ठको साउन्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानुसंगम खड्का, काव्य थापाको मेकअप, वसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ ।

यो फिल्मको वितरणको जिम्मा एप्पल इन्टरटेनमेन्ट र डिसिएनले लिएको छ ।

सुझावित समाचार