देशभर ५० जनामा हैजा संक्रमण

‘हटस्पट’ मानिएको ललितपुरमा ३८, कैलाली ८, काठमाडौं र प्युठानमा २–२ जना संक्रमित

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

केही सातायता देशका विभिन्न क्षेत्रमा फैलिएको हैजा संक्रमितको संख्या ५० पुगेको छ । स्वास्थ्य सेवा विभाग टेकुले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर ५० जनामा हैजा संक्रमण भएको र ललितपुरमा मात्रै ३८ जना संक्रमित रहेको जानकारी दिएको छ । विभागका अनुसार काठमाडौंमा दुई, प्युठानमा दुई, कैलालीमा आठजनामा हैजा संक्रमण देखिएको छ । 

विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रूत प्रतिकार्य टोली परिचालन गरी नियमित बिरामीको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगानी गर्ने÷गराउने कार्य गरिरहेको जानकारी दिएको छ । ‘प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँगको सहकार्य र समन्वयमा सफाइ र पानीको गुणस्तर परीक्षणसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ भने द्रुत प्रतिकार्य टोली परिचालन भएको नियमित केस अनुसन्धान भइरहेको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रभावित क्षेत्रमा थप बिरामीको सक्रिय खोजी भइरहेको छ, प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी हुनु तथा विभिन्न विज्ञ टिमको बैठक बसी खानेपानी गुणस्तर प्रभावकारी बनाउन सम्बन्धित संघसंस्था तयार सरोकारवाला निकायले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपले पूरा गर्ने निर्णय गरिएको छ ।’

महाशाखाका अनुसार स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमार्फत स्वास्थ्य शिक्षाका सामग्री तयार गरी प्रसारण गरिएको तथा झाडापखाला तथा हैजाका बिरामीको एक सय ४४ सरकारी तथा निजी अस्पतालबाट निगमित रूपमा निगरानी भइरहेको छ । जिल्ला र स्थानीय तहमार्फत खानेपानी गुणस्तर निगरानीसम्बन्धी कार्य भइरहेको, एउटै टोलबाट एक हप्ताभित्र पाँचजनाभन्दा झाडापखालाका बिरामी देखापरेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गरी जानकारी गराउने सकिने विभागले उल्लेख गरेको छ ।

See More On

सुझावित समाचार