इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले देशको भावी राजधानी नुसान्तारामा आफ्नो पहिलो मन्त्रिपरिषद् बैठक आयोजना गरेका छन् । बिडोडोको कार्यकालमा घोषणा भएको यस महत्वाकांक्षी मेगा प्रोजेक्टको दिगोपनमाथि प्रश्न उठ्न थालेपछि उनले निर्माण पूरा नहुँदै त्यहाँ मन्त्रिपरिषद् बैठक राखेका हुन् । विडोडोले दुई हप्ताअघिदेखि नै निर्माणाधीन विशाल दरबारभित्रको एक कार्यालयबाट काम गर्न थालेका थिए । सो दरबार इन्डोनेसियाको राष्ट्रिय प्रतीक पौराणिक गरुडको आकारमा डिजाइन गरिएको छ । एक हप्ताभित्रै पर्ने देशको स्वतन्त्रता दिवस पनि सोही सहरमा पहिलोपटक मनाउने तयारी छ ।
केहीअघि राष्ट्रपति निर्वाचित भएका आफ्ना उत्तराधिकारी प्रबोवो सुबियान्टोसँग दरबारको अगाडि देखा पर्दै विडोडोले ३३ अर्ब डलरको राजधानी निर्माण परियोजना सार्थक हुने कुरामा जोड दिए । ‘नुसन्तारा राजधानी भविष्यको नक्सा कोर्ने एक क्यानभास हो । सबै देशसामु शून्यबाट सुरु गरेर आफ्नो राजधानी निर्माण गर्ने अवसर र क्षमता हुँदैन,’ विडोडोले भने ।
सुबियान्टोले अक्टोबर २० मा कार्यभार सम्हालेपछि उनको सरकारले यस नयाँ सहरको कामलाई निरन्तरता दिने वाचा गरे । ‘निश्चित रूपमा हामी यस सहर निर्माण पूरा गरिछाड्नेछौँ । यद्यपि योसँग जोडिएका योजना वर्षौं लाग्ने खालका छन् । हुन पनि कहीँ पनि राजधानी सहर रातारात बन्दैनन्, ती लामो समय लागेर बनेका छन् । हामीले यसलाई जबर्जस्ती कार्यान्वयन गर्नुहुँदैन । म आशावादी छु कि आगामी पाँच वर्षमा यो राम्ररी तयार भइसक्नेछ,’ सुबियान्टोले भने ।
सोमबार उपराष्ट्रपति भवनलगायत विभिन्न निजी भवनका जग राख्ने समारोह पनि आयोजना गरिए । सरकारले योजनाको ३३ अर्ब डलरको बजेटमध्ये २० हिस्सा मात्र भुक्तान गर्ने अपेक्षा गरेको छ । बाँकी प्रमुख पूर्वाधार र सार्वजनिक स्थलको निर्माणका लागि सरकारले निजी क्षेत्रको लगानी हुने अपेक्षा गरेको छ । लगानी आकर्षित गर्ने प्रयासमा यस महिनाको सुरुमा विडोडोले लगानीकर्तालाई १९० वर्षसम्मको लिजको सुविधासहित नयाँ पुँजी प्रोत्साहन योजना घोषणा गरे ।
विडोडोले जकार्ताबाट राजधानी सार्ने योजना घोषणा गरेपछि सन् २०२२ को बीचदेखि यो नयाँ सहरको निर्माण सुरु भएको थियो । जकार्ता प्रदूषण र भिडदेखि भूकम्पको जोखिममा रहेकाले राजधानीका लागि उपयुक्त नभएको उनको विश्लेषण थियो । साथै यो सहर जलवायु परिवर्तनको कारण बढ्दो समुद्री सतहका कारण द्रुत गतिमा डुब्ने क्रममा छ । इन्डोनेसिया सरकारले नयाँ राजधानी २६०० वर्ग किमी क्षेत्रफलमा फैलिएको र यो नवीकरणीय ऊर्जा स्रोतयुक्त हुने बताएको छ । यसमा स्मार्ट फोहोर व्यवस्थापन कार्यान्वयन गरिने र वन तथा पार्कको उचित प्रबन्ध हुने सरकारको दाबी छ ।
‘हामी ठन्डा तथा स्वच्छ हावासहितको हरित राजधानी सहर चाहन्छौँ, चाहे त्यो ऊर्जा होस्, विद्युतीय सवारी साधन होस्, वातावरण होस्, हावा होस्, सबै दृष्टिले यो हरित राजधानी हुनेछ,’ विडोडोले पत्रकारहरूलाई भने । जंगल संरक्षण अभियन्ता, वातावरणविद् र आदिवासी समुदायले भने यस परियोजनाको आलोचना गरेका छन् । तिनका अनुसार यस परियोजनाले वातावरणलाई बिगार्छ भने त्यस भेगमा रहेको वनमा बस्ने ओरान्गुटानजस्ता लोपोन्मुख जनावरको वासस्थानलाई थप संकुचित पार्छ । साथै त्यस भेगका वन र जमिनमा निर्भर आदिवासी पनि विस्थापित हुनेछन् ।
– एपीबाट