अमेरिकाले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै पनि संलग्नताको खण्डन गरेको छ । योसँगै उसले यसअघि हसिनाले अमेरिकाले आफूलाई अपदस्थ गर्न सघाएको भन्ने आरोप झुटो भएको ह्वाइट हाउसले जनाएको छ ।
हसिनाको बहिर्गमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको बताए । बंगलादेशको राजनीतिक परिवर्तन बंगलादेशी जनताको छनोट रहेको बताउँदै करिनले बंगलादेशको सरकारको निर्माण र विघटन गर्न पाउने अधिकार त्यहीँको जनतामा रहेको अमेरिकाको धारणा रहेको बताए ।
हसिनाका छोरा तथा पूर्वसरकारी सल्लाहकार सजीव वाजेद जोयले अज्ञात विदेशी शक्तिले बंगलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाएका थिए । यद्यपि उनले कुनै प्रमाण भने पेस गरेका छैनन् । हसिनाले पनि आफ्नो सरकारले विदेशी शक्तिलाई बंगलादेशमा सैन्य हवाई आधार (एयरबेस) निर्माण गर्न अनुमति नदिएपछि आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएकी छन् ।
संयुक्त राज्य अमेरिकाको सामान्यतया बंगलादेशसँग मैत्रीपूर्ण सम्बन्ध छ । यद्यपि हालको अवस्थामा बंगलादेश र अमेरिकाबीच आरोप–प्रत्यारोपको शृंखला चलिरहेको देखिन्छ । बंगलादेशमा हसिनाको सरकार अपदस्थ भएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको प्रमुख चुनिएका छन् ।