आदिवासी जनजाति पत्रकारहरूको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २५औँ स्थापना दिवस तथा रजत वर्षको अवसरमा धुलिखेलमा रहेको बालगृहका बालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
स्थापना दिवस तथा रजत वर्षको अवसर पारेर फोनिज काभ्रेले सामाजिक कार्यमा सहयोग पुर्याउने उद्देश्यले बालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरेको हो।
सोमबार धुलिखेल नगरपालिका– ३ मा अवस्थित हेल्प नेपाल नेटवर्क बाल चिल्ड्रेन होम्सद्वारा सञ्चालित बालगृहमा फोनिज काभ्रेको टोलीले बालगृहका सहसंयोजक रामप्रसाद श्रेष्ठ र सञ्चालक कर्णबहादुर कार्कीलाई एकमुस्ट स्टेसनरी हस्तान्तरण गरेको हो।
बालगृहमा आश्रित २४ जना बालिकाहरूका लागि एक–एक दर्जन कापी, एक–एक प्याकेट सिसाकलम र कलमसहितको सहयोग गरेको फोनिज काभ्रेका सचिव सुरज श्रेष्ठले जानकारी दिए।
उक्त बालगृहले कक्षा १२ सम्म अध्ययन गर्दा पढाउने र बस्ने व्यवस्था मिलाउनुका साथै जीवन बिमासमेत गरिदिँदै आएको छ। त्यस्तै कक्षा १२ पास भएपछि नगद चारदेखि पाँच लाख दिएर बिदाइ गर्ने गरेको कार्कीले बताए।