उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री ओलीको आग्रह

आइतबार, २७ साउन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन्।

मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरूसँग आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगीकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिएका हुन्।

‘अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ। भवन, कार्यालयलगायत भौतिक संरचना निर्माणमा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन। हामीसँग उर्वर धर्ती, पानी र हावापानी छ। मिहिनेत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधारहरू छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता काममा हाम्रा राजनीतिक दलका संगठन र कार्यकर्ता पनि लाग्नुपर्छ। सबै मिलेर नागरिकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ।’ 

उनले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ राख्न खाना स्वस्थ हुनुपर्ने भन्दै अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ आयात निर्यातमा रोक लगाउने व्यवस्था गर्न सरोकार भएकालाई सुझाव दिए।

अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले मुलुकमा विद्यामान समस्या पहिचान गरी समाधान निकाल्ने योजनासहित काम गरिरहेको बताए। उनले हाल घाटा बजेटमा सरकार सञ्चालन भइरहेको भन्दै आफूहरूले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न सबैलाई आग्रह गरे।

प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति, सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यान दिन आग्रह गरे।

सुझावित समाचार