बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न ३ बौडीस्थित गोरुखर्कमा पहिरो जाँदा चारजना घाइते भएका छन्। शनिबार बिहान ९ बजेतिर वर्षासँगै पहिरो आएको र पहिरोमा परी चारजना घाइते भएका हुन्। घाइते हुनेमा प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा रहेको हिमाली गाउँपालिका ३ का वडाध्यक्ष मंगल बुढाले जानकारी दिए। पहिरोमा परी दर्जनौँ पशुचौपाया पुरिएका छन्।
गोरुखर्कमा ३० परिवार बस्दै आएका थिए। घाइतेको उद्धारका लागि पहल भइरहेको र आफू घटनास्थलमै रहेको वडाध्यक्ष बुढाले उल्लेख गरे। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलीप गिरीका अनुसार सो ठाउँमा प्रहरीको टोली गइसकेको र दूरीको हिसाबमा धेरै टाढा रहेकाले प्रहरी नपुग्दासम्म क्षतिको यकिन विवरण आउन नसकेको बताए।
चारजना घाइते र पशुचौपाया पहिरोमा पुरिएको जानकारी आएको भए पनि यकिन विवरण आउन केही समय लाग्ने प्रहरी प्रमुख गिरीले बताए। जिल्ला सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी भेगमा रहेको हिमाली गाउँपालिका वडा ३ पुग्ने पेदोलबाट चार दिन लाग्ने गर्छ। उक्त ठाउँमा यातायातको साधनहरू केही पनि सञ्चालनमा रहेका छैनन्।