इलाका प्रहरी कार्यालय बर्दीबासले ६११ किलो तयारी गाँजा नियन्त्रणमा लिएको छ । बर्दीबास नगरपालिका– १ स्थित यामाहा मोटरसाइकलको सोरुमअगाडिबाट बा.प्र.०३–००१ख–२८३२ नम्बरको नेपाली मिनीट्रकबाट बिआर ३०जी ७०४३ नम्बरको भारतीय ट्रकमा पल्टी गर्दै गरेको अवस्थामा ४० पोकामा रहेको ६११ किलो तयारी गाँजा नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय बर्दीबासका प्रमुख डिएसपी रेवतीरमण पोखरेलको कमान्डमा खटेको टोलीले उक्त गाँजासहित भारतको मोतीहारी जिल्ला ग्राम पञ्चायत कुरियानिवासी २५ वर्षीय गुड्डुकुमार यादव र सोही जिल्लाको मधुरापुर बस्ने २९ वर्षीय मनीषकुमार गिरीलाई नियन्त्रणमा लिएको हो ।
यता गाँजा बोकेर आएको नेपाली नम्बरको मिनीट्रकका चालक तथा अन्य सहयोगी तत्काल फरार भएकोमा उनीहरूको खोजी प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले बताए ।
उनले पूर्व–पश्चिम लोकमार्गमा पूर्वसूचनाको आधारमा प्रहरीले राति चेकपोस्ट थापेको बताउँदै भारी वर्षा भइरहेको अवस्थामा प्रहरीलाई देखेर मिनीट्रक भाग्दै गर्दा यामाहा सोरुमअगाडि हतारहतारमा गाँजा भारतीय नम्बरको ट्रकमा पल्टी गर्दै गरेको अवस्थामा दुई थान ट्रकसहित उनीहरूलाई पक्राउ गरिएको बताए । प्रहरीले जिल्ला अदालत महोत्तरीबाट अनुसन्धान गर्न आठ दिनको म्याद लिएकोसमेत डिएसपी जयसवारले बताए ।