सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथलगत्तै मुख्यमन्त्री शाहले तीन राज्यमन्त्रीसहित १० सदस्यीय प्रदेश मन्त्रिपरिषद् गठन गरेका छन्। मुख्यमन्त्रीको शपथपछि मन्त्री र राज्यमन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित सात मन्त्रालय छ। भागबन्डा मिलाउन तीन राज्यमन्त्री थप गरिएको हो।
कांग्रेसबाट मुख्यमन्त्रीसहित बहादुरसिंह थापा आर्थिक मामिलामन्त्री र मेघराज खड्का सामाजिक विकासमन्त्री बनेका छन्। यसैगरी, एमालेबाट सुरेन्द्रबहादुर पालले भौतिक पूर्वाधार विकासमन्त्री, हिरा सार्कीले आन्तरिक मामिला तथा कानुनमन्त्री र वीरबहादुर थापाले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी पाएका छन्।
नागरिक उन्मुक्ति पार्टीसमेत प्रदेश सरकारमा सहभागी भएको छ। नागरिक उन्मुक्तिबाट लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन्।
मुख्यमन्त्री शाहले कांग्रेसबाट दुई र एमालेबाट एक राज्यमन्त्री नियुक्त गरेका छन्। मन्त्रीमा महिला नभए पनि दुईजना महिलालाई राज्यमन्त्री बनाइएको छ। कांग्रेसबाट प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री बनेका छन्। त्यस्तै, एमालेकी निर्मलादेवी साउदले भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीका रूपमा शपथ लिएकी छिन्।